काठमाडौं । देशभर करिब ८ हजार चिकित्सक आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आवश्यकताअनुसार दरबन्दी नथपिँदा देशभरका सरकारी अस्पतालमा चिकित्सक अभाव भएको हो ।
नेपालको जनसंख्याअनुसार सरकारलाई तत्काल ७ हजार ९ सय ५० जना चिकित्सक आवश्यक परेको मन्त्रालयको भनाइ छ । सरकारले २०५१ यता चिकित्सकको दरबन्दी नथप्दा स्थानीय तहमा स्वास्थ्यकर्मी अभाव भएको हो । हाल देशभरका ३ हजार ५ सय ७ वटा सरकारी स्वास्थ्य संस्थामा १२ सय चिकित्सक कार्यरत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो केही महिनायता स्वास्थ्य सेवामा समस्या आएपछि करिब २ सयको हाराहारीमा करारमा चिकित्सक खटाइएको स्वास्थ्य मन्त्रालय नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीले बताए । उनले भने, “चिकित्सकको दरबन्दी न्यून मात्रामा हुँदा सरकारले दिने स्वास्थ्य सेवा खस्किएको अवस्थामा चाँडै मापदण्डअनुसार चिकित्सकको दरवन्दी थप्नेछौं । ”
हाल देशभर ३७ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू तथा २ हजार विशेषज्ञ चिकित्सक रहेका छन् । “अहिले नै ८ हजार चिकित्सक अभाव छ, अझ स्थानीय तहमा जाँदा धैरै कर्मचारी आवश्यक पर्छ,” स्वास्थ्य मन्त्रालयका संघीयता कार्यान्वयन इकाइ संयोजक मोहम्मद दाउदले बताए । हाल मेडिकल काउन्सिलमा १२ हजार चिकित्सक दर्ता रहेको काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माले बताए ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति १० हजार जनसंख्यामा ३ जना चिकित्सकसहित २३ स्वास्थ्यकर्मी आवश्यक पर्छ । उक्त मापदण्डलाई आधार मान्दा एक चिकित्सकले ३ हजार नागरिकको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।
२०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । उक्त जनसंख्यालाई आधार मान्दा एक चिकित्सकको भागमा २२ हजार जनसंख्या पर्ने हुन्छ । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १९ हजारले बढी हो । विज्ञहरुका अनुसार एक चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने अवस्थाले पनि स्वास्थ्य सेवाको गुणस्तरमा प्रश्न उब्जिएको हो ।