काठमाडौं । नेपाल औषधी लिमिटेडले माघ दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने तयारी गरे पनि मेसिन जडान गर्ने प्राविधिक नआउँदा उत्पादन सुरु गर्न नसकिएकोे बताएको छ ।
कम्पनीका महाप्रबन्धक रोभस कुशम सुवेदीले सिटामोल उत्पादनमा आवश्यक सबै कच्चा पदार्थ र मेसिन भारतबाट आइसकेको तर मेसिन जडान गर्ने प्राविधिक नआइपुग्दा काम रोकिएको बताए । उनले भने, “माघको दोस्रो सातासम्ममा सिटामोल उत्पादन गर्ने भनेर तयारी गरेका थियौं तर भारतबाट मेसिन जडान गर्ने प्राविधिक आइपुगेका छैनन् ।” फागुन दोस्रो सातासम्म मेसिन जडान गरेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन गर्न सुरु गरिने उनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार औषधी उत्पादन गर्ने कक्ष र उपकरणलाई किटाणुरहित तथा हावा छिर्न नसक्ने अवस्थाको बनाउनुपर्ने हुन्छ । उक्त अवस्थालाई जिएमपी मोडल अर्थात् कुशल उत्पादन विधि भनिन्छ । सरकारले जिएमपी मोडलमा कारखाना क्षेत्र निर्माण गर्ने निर्णय गरी करिब १४ करोड बजेट छुट्याएपछि नेपाल औषधी लिमिटेडको औषधी उत्पादनको कारखाना क्षेत्र निर्माण भएको छ । ७ वर्षदेखि उत्पादन बन्द रहेको सिटामोल जिएमपी मोडलको कारखानामा उत्पादन हुने भएको छ ।
उत्पादन फागुन दोस्रो साताबाट सुरु भए पनि बजारमा आउन भने समय लग्ने महाप्रवन्धक सुवेदीको भनाइ छ । “उत्पादन शुरु भएको १५–२० दिनमा १५ लाख ट्याब्लेट उत्पादन हुन्छ, त्यसपछि मात्रै बजारमा लैजान्छौँ,” उनले भने । लिमिटेडले सिटामोललगायत चक्की औषधी उत्पादनका लागि ३ वटा नयाँ ‘ट्याब्लेट कम्प्रेसर’मेसिन खरिद गरेको छ ।
लिमिटेडले पहिलो चरणमा सिटामोल उत्पादन गर्नेछ । त्यसैगरी आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले जिएमपी मापदण्डअनुसार नै गत वैशाख २४ गतेदेखि जीवनजल उत्पादन गरिरहेको छ ।
कम्पनीले ग्लिसरिन तथा डिस्टिल्ड वाटरको पनि उत्पादन एक वर्षमा १ सय ५५ प्रतिशतसम्म वृद्धि भएकोे जनाएको छ । सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी लिमिटेडले पुर्नजीवन पाएको हो । लिमिटेडले ९ महिनाअघि टेन्डर आह्वान गरी असोजबाट चक्की औषधी उत्पादन गर्ने कारखाना निर्माणको काम सुरु भएको लिमिटेडका प्रशासन महाशाखा प्रमुख ज्ञानु रायामाझीले बताए ।
उनले भने, “चक्की औषधी उत्पादनका लागि जिएमपी मोडलमा निर्माण भएको कारखानाको निर्माण कार्य सबै सम्पन्न भएको छ । अबको १५ दिनमा सिटामोल उत्पादन भएर बजारमा लैजानेछाैं ।” २०२९ सालमा सरकारी स्वामित्वमा सञ्चालनमा आएको कम्पनी जीएमपी मोडलमा जान नसक्दा २०६७ सालमा बन्द भएको थियो ।