काठमाडौं । सिन्धुपाल्चोककी ५५ वर्षीया लिला लामालाई सुरुमा सामान्य छाती दुख्ने समस्या थियो । केही महिना नजिकैको मेडिकलमा गएर ओषधी लिएर खाइन् तर औषधीले खासै काम गरेन । उनी छातीको उपचार गर्न विर अस्पताल आइन् । वीरमा स्वास्थ्य परीक्षणपछि थाहा भयो, लामालाई क्यान्सर भएको रहेछ ।
उनलाई फोक्सोको क्यान्सर हड्डीसम्म पुगेकाले छाती दुखाइको समस्या भएको उनको उपचारमा संलग्न वीर अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्यले बताए । उनको अहिले केमोथेरापीमार्फत उपचार भइरहेको छ ।
वीर अस्पतालमै उपचाररत ४५ वर्षीय हिरालाल शर्माको पनि लिलाको जस्तै समस्या छ । उनलाई पनि आन्द्राको क्यान्सर भएको चिकित्सकले बताएका छन् । उनी ४ महिनादेखि उपचार गराइरहेका छन् ।
त्यसैगरी, सल्यानका गुरुप्रसाद मैनाली १० वर्षदेखि फोक्सो क्यान्सरबाट पीडित छन् । उनले नेपालका ठूला सबै अस्पताल र भारतका पनि अस्पतालमा उपचार गर्न धाए तर रोग ठिक भएन । उनी भन्छन्, “उपचारका लागि सबै सम्पत्ति सकियो तर रोग ठिक भएन ।” सानै उमेरमा चुरोट र विँडीको लत लागेको उनले सुनाए । अहिले उनी नेपाल क्यान्सर अस्पताल भक्तपुरमा उपचार गराइरहेका छन् । उनी भन्छन्, “क्यान्सरको उपचार गरिरहको छु औषधी खान थालेपछि अन्य रोग पनि थपिएका छन् ।”
लामा, शर्मा र मैनालीमात्रै होइन, काठमाडौंका क्यान्सर रोग उपचार हुने अस्पतालमा क्यान्सर प्रभावितको संख्या बढ्दो छ । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठका अनुसार नेपाललगायत विकासोन्मुख देशमा पुरुषहरुले बढी सुर्तिजन्य पदार्थ, बाहिरको धुलोमा बढी काम गर्ने, हिँड्ने मानिसहरुमा हुने गर्छ । उनले अधिकांश शिरामी ढिलो अस्पताल आउने गरेकाले क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताए ।
नेपाल अर्बुद रोग निवारण संघका अनुसार नेपालमा वर्षेनी ३० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । अहिलेसम्म उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीको संख्या नेपालभर १० हजार छ । क्यान्सरका बिरामी यसरी नै बढ्दै जाने हो भने सन् २०२० सम्ममा क्यान्सरले विकाराल रुप लिने चिकित्सकहरुले बताउने गरेका छन् ।
भक्तपुर मेमोरियल क्यान्सर अस्पतालमा मात्र वर्षेनी १४ हजार बिरामी क्यान्सर उपचारको लागि बहिरंग सेवामा भर्ना हुने गरेका छन् । अस्पतालमार्फत वर्षेनी ४५ हजार क्यान्सर रोगीले फलोअप उपचार गर्छन् । गत वर्ष सो अस्पतालमा १४ सय पुरुष र १८ सय महिलाले क्यान्सर रोगको उपचार गराएका थिए ।
विपन्न नागरिक आर्थिक उपचार कोषअन्तर्गत आर्थिक वर्ष ०७३–०७४ मा वीर अस्पतालबाट ७ सय ७१ क्यान्सरका बिरामीले उपचार सेवा लिएका थिए । त्यसैगरी, स्वास्थ्य मन्त्रालयमार्फत दिइने विपन्न नागरिक औषधि उपचार कोषमार्फत आव ०७०–०७१ देखि ०७२–०७३ सम्ममा देशभर ९ हजार ३७० क्यान्सरका बिरामीले उपचार सेवा लिए । चालु आर्थिक वर्षमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत २ सय ७० र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ८ सय ६४ जना बिरामी विपन्न नागरिक अन्तर्गत क्यान्सर रोगको उपचार सेवा लिएका छन् ।
क्यान्सरका बिरामीको रेकर्ड राख्दै आएका सात वटा अस्पतालको क्यान्सर रजिष्ट्रीअनुसार नेपालमा क्यान्सरका बिरामी प्रत्येक वर्ष बढिरहेको पाइएको छ । वीर अस्पताल, धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल र पोखराको मणिपाल अस्पतालमा क्यान्सर रोगको उपचार गर्ने बिरामीको संख्या बढ्दो छ । यी अस्पतालमार्फत सन् २००३ मा ३ हजार २५१ क्यान्सरका बिरामीको उपचार भएकोमा सन् २०१३ सम्म आइपुग्दा संख्या बढेर ४ हजार ७१८ पुगेको छ ।
यसकारण क्यान्सरको जोखिम उच्च
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सर्वेअनुसार नेपालमा हुने ८ प्रतिशत मृत्युको कारण क्यान्सर हुने गरेको छ । मद्यपान र धुम्रपान त्याग्ने, धुलोधुवाँबाट बच्ने र शारीरिक अभ्यास गर्नाले क्यान्सर रोक्न सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा महिलामा दोस्रो क्यान्सरको रुपमा देखिएको स्तन क्यान्सर वंशानुगत, ढिलो विवाह गर्ने र ढिलो उमेरमा बच्चा पाउनेमा बढी देखिने गरेको छ । ३० वर्ष वा त्यसपछि मात्रै विवाह गर्नाले महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् ।
विकसित देशमा जस्तै स्तन क्यान्सरका बिरामीको संख्या सहरी क्षेत्रमा बढिरहेको वीर अस्पतालको क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्य बताउँछन् । विभिन्न प्रकारको क्यान्सरका बिरामी मध्ये विश्वव्यापी रुपमा फोक्सोको क्यान्सरबाट मृत्यु हुने संख्या बर्षेनि १ करोडको हाराहारीमा हुने गरेको छ ।
त्यसैगरी, नेपालका पुरुषमा मुख र घाँटीको क्यान्सरका बिरामी बढी छन् । त्यसपछि फोक्सोको क्यान्सर र तेस्रोमा पेटको क्यान्सरका बिरामी देखिएका छन् । चिकित्सकका अनुसार फोक्सोको क्यान्सर बढ्नुमा धुम्रपान र वायु प्रदूषण प्रमुख कारक तत्व हो । मुख र घाँटीको क्यान्सरको कारण धुम्रपान, खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन हुने गरेको छ ।
कमजोर अर्थसामाजिक अवस्था, कम उमेरमा विवाह, धैरै सन्तान हुनु र सरसफाइमा ध्यान नदिनाले पाठेघरको मुखको क्यान्सर हुन्छ । धेरै यौन साथी भएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च रहने गरेको प्रसूति गृहकी चिकित्सक मिना झा बताउँछिन् ।