
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान सत्ता गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।
शनिबार (असार २१) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सरकारलाई प्रभावकारी बनाउने विषयमा पार्टी बैठकमा छलफल भएको बताए । तर, वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको उनले उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुवै काँध थापिदिँदा पनि गति पक्रन नसकेको उनको भनाइ थियो ।
गत शुक्रबार शीलतनिवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटलाई सरकार बदल्ने कसरतका रूपमा चित्रण गर्न नहुने उनले बताए ।
“दुई शीर्ष नेता – शेरबहादुर देउवा र प्रचण्डको बीचमा भएको भेटघाट सौहार्दपूर्ण, मैत्रीपूर्ण र हार्दिकताको साथ हो,” उनले भने, “कुनै पर्वविशेषमा भएको भेटघाट हो । त्यो सरकार बदल्नेका बारेमा भएको भेटघाट होइन ।”
सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्नेतर्फ लाग्न आवश्यक रहेकामा उनले जोड दिए ।
साक्षात्कारमा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले वर्तमान सरकार असफल भएको जिकिर गरे । सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितका पक्षमा यो सरकारले काम गर्न नसकेको उनले बताए ।
सरकार परिवर्तनका निम्ति ‘बेइमानी’हरूसँग संगत नगर्ने भन्दै उनले जनताका बीचमा गएर सडक र सदनबाट आवाज उठाउने उल्लेख गरे । “हामीले धोका खाइसकेका छौँ, धेरै ठाउँमा । धेरै ठक्करहरू पनि हामीले खाइसकेका छौँ,” उनले भने, “त्यसकारणले हामीले अब संगतचाहिँ बेइमानीको हुँदैन । हामी गर्दैनौँ ।”
राष्ट्रिय रूपमा समस्या आएको र सरकार बदनाम भएको सन्दर्भमा आफ्नो दलका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता तथा गम्भीर कुराकानी भएको पनि शर्माले बताए । हिमालयन टेली भ्वाइस