
काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार २२) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट र दैलेखमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत र पाल्पा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने अनुमान छ ।
आइतबार बिहानको मापनमा कोसी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।