site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आठ संसदीय समितिका बैठक आज एकैदिन
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । आठ संसदीय समितिका बैठक आज (असार २२) बस्दै छ । बिहान साढे १० बजे बस्ने भनिएको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक भने स्थगन गरिएको छ ।

यस दिन बिहान ८ बजे प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिनेछ ।

बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा ऐन कार्यान्वयन मापन विषयमा छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदसित छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका निम्ति निर्धारित कोटाका विषयमा छलफल गरिनेछ ।

पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोसी–मरिन डाइभर्सन आयोजनालगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे नै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा समितिको आउँदो कार्यक्रम तथा समसामयिक विषयमा छलफल गरिनेछ ।

दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । यी सबै प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति हुन् ।

यस दिन राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ ।

यी बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्