site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अहमदाबाद विमान दुर्घटना : सेल्फी अन्तिम सम्झना

काठमाडौं । भारतको गुजरातको अहमदाबादमा विमान दुर्घटनामा परी धेरैजनाको मृत्यु भयो । दुर्घटनामा ज्यान गुमाएका मध्ये एक परिवारको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिँदै छ । सेल्फी तस्बिरमा तीन बालबालिका र उनीहरूका आमाबुवा देखिएका छन् ।

विमान चढेपछि डा. प्रतीक जोशीले खिचेको यो सेल्फी दुर्घटनापश्चात् सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । जोशी दम्पती पेसाले चिकित्सक थिए ।

यो परिवार धेरै वर्षपछि सँगै बस्ने आफ्नो सपना पूरा गर्न बेलायत सर्दै थियो । उडानअघि खिचिएको सेल्फी अब उनको परिवारका निम्ति अन्तिम सम्झना बनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमान दुर्घटनामा डा. प्रतीक, उनकी श्रीमती डा. कौमी व्यास, उनीहरूका आठ वर्षीया छोरी मिराया र पाँच वर्षीय जुम्ल्याहा छोरा प्रद्युत र नकुलको मृत्यु भएको हो ।

गुजरातको सिमानानजिक राजस्थानको बांसवाडा जिल्लाका बासिन्दा डा. प्रतीक एक रेडियोलोजिस्ट थिए । उनी विगत चार वर्षदेखि बेलायतमा बस्दै आएका थिए । र, रोयल डर्बी अस्पतालमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए ।

उनकी श्रीमती प्याथोलोजिस्ट डा. कौमी राजस्थानकै उदयपुरको एक निजी मेडिकल कलेजमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन् । उनले एक महिनाअघि राजीनामा दिएकी थिइन् । र, दुर्घटना हुनुभन्दा दुई दिनअघि मात्र उनी कलेजबाट बिदा भएकी थिइन् ।

अहमदाबादमा रहेका डा. प्रतीकका आफन्त चिन्तन जोशीले बीबीसीसित फोनमा भने, “लगभग १२ वर्षअघि डा. प्रतीक र डा. कौमीको विवाह भएको थियो । उनीहरूका आठ वर्षीया छोरी र पाँच वर्षका जुम्ल्याहा छोरा थिए ।”

डा. चिन्तनले अगाडि भने, “डा. प्रतीकका बुवा डा. जयप्रकाश जोशी रेडियोलोजिस्ट हुन् र आमा डा. अनिता जोशी चिकित्सक हुन् । उनीहरू बांसवाडामै अभ्यास (काम) गर्छन् । डा. प्रतीककी कान्छी बहिनी शुभी जोशी छिन्, जसले एमबीए गरेकी छन् ।”

डा. कौमीका कान्छा भाइ प्रबुद्ध दुर्घटनापछि अहमदाबादमा छन् । आफ्नी बहिनीको परिवार गुमाएपछि उनले बीबीसीसित फोनमा धेरै दुःखी स्वरमा भने, “हामी तीन दाजुभाइ–दिदीबहिनी हौँ र कौमी दिदी जेठी थिइन् । उनका तीनैजना छोराछोरी स्कुल जान्थे ।”

कौमीका आमाबाबु हाल अवकाशप्राप्त छन् । उनका बुवा पीडब्ल्यूडी विभागमा इन्जिनियर थिए । आमा निकुञ्ज व्यास सरकारी विद्यालयमा शिक्षिका थिइन् । आजकल उनीहरू बांसवाडामा बस्छन् ।

efmdg-1749917277.jpg
अहमदाबादबाट लन्डन जाँदै गरेको परिवारलाई बिदाइ गर्न डा. प्रतीक र कौमीका आमाबाबुसहित धेरै आफन्त आएका थिए । अब उनीहरू सबै आफन्त आफ्ना प्रियजनको शव पहिचान गर्न डीएनए नमुना दिएपछि रिपोर्टको पर्खाइमा छन् ।

बांसवाडाबाहेक अहमदाबादमा पनि डा. प्रतीकको घर छ । उनी दुर्घटनाको एक दिनअघि बांसवाडाबाट आफ्नो परिवारसँग अहमदाबाद आएका थिए । यहाँबाट उनी आफ्नो परिवारसँग लन्डन जाने योजनामा थिए ।

डा. चिन्तन भन्छन्, “आमाबाबुसँग मिलेर दुवैजनाले झोला प्याक गरे र हामी सबै उनीहरूलाई बिदाइ गर्न विमानस्थल गयौँ ।”

उनले अगाडि भने, “हामी विमानस्थलबाट निस्किएको आधा घण्टा मात्र भएको थियो । त्यसको केही समयपछि दुर्घटनाको खबर आउन थाल्यो । मानिसले हामीलाई फोन गरेर यसबारे सोधपुछ गर्न थाले । त्यसपछि मात्र हामीलाई दुर्घटनाका बारेमा थाहा भयो ।”

डा. प्रतीकले धेरै वर्षपहिले नै आफ्नो परिवारसँग बेलायतमा बसोबास गर्ने मन बनाइसकेका थिए ।

उनले धेरै मेडिकल परीक्षा पास गरेका थिए । र, भारतका धेरै प्रमुख अस्पतालहरूमा काम गरेका थिए । तर, उनी प्रायः डा. चिन्तनलाई भन्ने गर्थे कि आफ्नो शिक्षा र योग्यतालाई न्याय गर्न चाहन्छन् ।

डा. चिन्तनले भने, “कोरोनाभन्दा पहिले पनि उनी लगभग एक वर्ष लन्डनमा बसेका थिए । उनले आफ्नो परिवारसँग त्यहीँ बसोबास गर्ने निर्णय गरेका थिए । तर, धेरै कारणले गर्दा उनी भारत फर्किए । त्यसपछि उनी फेरि लन्डन गए र पछिल्लो चार वर्षदेखि लन्डनमा नै थिए ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्