site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनामा गोल्छाको सवा ११ अर्बको मोटरसाइकल व्यापार, पल्सरको हिस्सा ६२ प्रतिशत

काठमाडौं । व्यावसायिक घराना गोल्छा ग्रुपको स्वामित्वमा रहेको हंसराज हुलासचन्द एन्ड कम्पनीको नौ महिनामा मोटरसाइकल व्यापार बढेको छ ।  नौ महिनामा कम्पनीले ११ अर्ब २२ करोड ६० लाख रुपैयाँको मोटरसाइकल व्यापार गरेको हो । 

नेपालमा एसम्ब्लिङ प्लान्ट स्थापना गरेर भारतको बजाज ब्रान्ड दुई पाँङग्रे मोटरसाइकल बनाइरहेको छ ।  बजाजका साथै केटीएम डुक र ट्रम्फ मोटरसाइकलका साथै कम्पनीले सर्वो ब्रान्डको लुब्रिकेन्टस आयात गरेर नेपालमा बिक्री वितरण गरिरहेको छ ।

कूल कारोबारमा पल्सर मोटरसाइकलको हिस्सा ६२ प्रतिशत रहेको कम्पनीले जनाएको छ । बाँकी अन्य मोटरसाइकल र मोबिलको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गतवर्ष सन् २०२४ मा  १० अर्ब ६७ करोड ४० लाख रुपैयाँको मोटरसाइकल बिक्री गरेको हंसराज हुलासचन्दको व्यापार यो वर्षको नौ महिनामा सवा ११ अर्ब रुपैयाँ माथि पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । 
मागमा सुधार आएपछि कम्पनीले २०२५ को नौ महिनामा ४० प्रतिशतको आम्दानी वृद्धिको रिपोर्ट सार्वजनिक गरेको छ ।  मागमा सुधार आए पनि कम्पनीको बजार हिस्सा थोरै घटेको छ । यस्तै सन् २०२३ मा कम्पनीले १० अर्ब ७६ करोड ३० लाख र २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको मोटरसाइकल व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो वर्ष मोटरसाइकल व्यापार बढे पनि सन् २०२२ को तहमा पुग्न नसक्ने देखिएको छ ।  कम्पनीले सन् २०२३ मा २३० प्रतिशत र गत वर्ष १८६ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले चार अर्ब ९३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

हंसराज हुलासचन्द एन्ड कम्पनी १९९८ देखि नेपालमा बजाज ब्रान्डको मोटरसाइकलको एकमात्र अधिकृत बिक्रेता हो ।  यी वर्षहरूमा बजाज नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल ब्रान्डको रूपमा विकास गर्न कम्पनी सक्षम भएको छ ।

कम्पनीसँग देशभर ३०० भन्दा बढी बिक्री आउटलेटहरूको स्थापित र फराकिलो बिक्री सञ्जाल छ । जसले कम्पनीको आम्दानीमा भौगोलिक विविधता थपेको छ । यसबाहेक, बजाजले तीन पाङग्रे खण्डमा पनि बलियो बजार स्थिति कायम राखेको छ । माग प्रवृत्तिमा सुधार भएको रिपोर्ट गरेको छ । 

कम्पनीले होन्डा, यामाहा र टीभीएसजस्ता अन्य स्थापित ब्रान्डका साथै पछिल्लो समय रोयल इनफिल्डजस्ता अन्य प्रमुख ब्रान्डहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ ।  सबै ब्रान्डको स्थानीय एसेम्बल एकाइ छ । कम्पनीको उत्पादन केन्द्रीकरण जोखिम पनि उच्च रहन्छ किनकि यसको सबैभन्दा बढी बिक्री हुने मोडेल पल्सर हो ।

नयाँ ब्रान्ड र मोडेलहरूको सुरुवातको बाबजुद, पल्सरले सन् २०२५ को नौ महिनामा ६२ प्रतिशत हिस्सा ओगटेको छ ।  पल्सरसँग प्रतिस्पर्धा गर्ने अन्य प्रमुख ब्रान्डहरूले गरेको प्रतिस्पर्धी सुरुवात मूल्य निर्धारणका कारण कम्पनीको बजार हिस्सा पनि पछिल्लो समय थोरै घटेको छ । 

हंसराज हुलासचन्दमा गोल्छा परिवारका १९ सदस्यको सेयर रहको छ । शेखर गोल्छाको बहुमत ५३.८५ प्रतिशत छ ।  बाँकी १८ सेयरधनीहरूको ३.७५ प्रतिशत वा कम स्वामित्व रहेको कम्पनीले जनाएको छ । ग्रुपको हायर पर्चेज फाइनान्सिङ मध्यस्थकर्ता हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड सञ्चालनमा छ ।

साढे छ अर्बको बजाज मोटरसाइकल एसम्बल

गोल्छा ग्रुपले नवलपरासीको रामग्राममा एसम्ब्लिङ युनिट सञ्चालन गरिरहेको छ । एसम्ब्लिङ युनिट हुलास अटोक्राफ्टले सन् २०१८ देखि नेपालमा बजाज मोटरसाइकल बनाउन थालेको हो ।  सन् २०१९ देखि तीन पाङग्रे पनि उत्पादन हुन थालेको हो । 

एसम्बल प्लान्ट हुलास अटोक्राफ्टले सहायक कम्पनी हंसराज हुलासचन्दलाई छ अर्ब ४६ करोड रुपैयाँ बराबरको बजाज मोटरसाइकल बिक्री गरेको छ ।  गतवर्ष पाँच अर्ब १३ करोडको बेचेको थियो ।  सन् २०२३ मा पाँच अर्ब ६१ करोड र २०२२ मा १० अर्ब ७६ करोड रुपैयाँ बराबरको मोटरसाइकल बिक्री गरेको थियो । 

यसबीचमा हुलास अटोले सबैभन्दा बढी अर्थात् ७७ प्रतिशत आम्दानी पल्सरबाट प्राप्त गरेको छ । हुलास अटोक्राफ्टमा शेखर गोल्छाको ८० र आकास गोल्छाको २० प्रतिशत स्वामित्व रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्