site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खाडी राष्ट्रमा घरेलु महिला कामदार पठाउने पक्षमा परराष्ट्रमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले खाडी राष्ट्रमा नेपाली महिला कामदार पठाउने विषयमा पुनर्विचार गर्नुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले अवैध तरिकाले गएका नेपाली महिलालाई उद्धार गर्न कठिन भइरहेको बताइन् ।

उनले केही वर्षअघि संसदीय समितिले नै खाडी राष्ट्रको अध्ययन गरी घरेलु कामदारको रूपमा महिलालाई पठाउन रोक लगाएको स्मरण गरेकी थिइन् । सरकारले रोक लगाउँदा पनि धेरै नेपाली महिला अवैध तरिकाले खाडी राष्ट्रमा पुगेको उनले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कुवेतमा मात्र ४८ हजार नेपाली महिला कार्यरत रहेको तथ्यांक प्रस्तुत गरेकी थिइन् । “उनीहरूलाई हामीले वैध दायरामा नल्याउँदा नेपाल आउन र फर्कन गाह्रो भइरहेको छ । कतिलाई वैध पनि गर्‍यो हाम्रो सरकार आएपछि । जो वैध तरिकाले पहिला जानुभएको थियो, सुरक्षित हुनुहुन्थ्यो । अवैध तरिकाले गएकाहरू बढी असुरक्षित छन्,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

अवैध तरिकाले गएकालाई उद्धार गर्न पैसाको पनि अभाव हुने गरेको उनले बताइन् । अवैध तरिकाले नेपाली महिला खाडी राष्ट्रमा पुग्दा अप्ठेरो परिस्थितको सामना गर्नुपरेको उनले जनाइन् ।

संसदीय समितिले फेरि एकपटक खाडी राष्ट्र गएर नेपाली महिलाको अवस्थाको अध्ययन गर्नुपर्ने सुझाव उनले दिइन् । यस सम्बन्धमा श्रममन्त्रीसँग पनि आफूले कुराकानी गरेको उनले जनाइन् । 

“त्यो बेला मध्यपूर्वका धेरै देश मानव अधिकारको कुरामा प्रवेश गरेका थिएनन् । अहिले आईएलओको प्रोभिजन र मानव अधिकारको मूल्यमान्यतलाई पनि धेरै अघि बढाएकामा यो कुरालाई हामीले पनि रिभिजिट गर्नुपर्छ कि भन्ने कुरा यहाँहरूसमक्ष राख्न चाहन्छु,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

नीति निर्माताले राम्रो उद्देश्यले आफ्ना नागरिकलाई सुरक्षित बनाउन खोज्दा झनै जोखिम बढेको तर्क उनको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्