
काठमाडौं । भीमेश्वर नगरपालिकाका एक कर्मचारी एमालेको भ्रातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय सदस्यमा उमेदवार बनेका छन् ।
अनेरास्ववियुको काठमाडौंमा जारी निर्वाचनमा पाठक वागमती प्रदेशबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उमेदवार बनेका हुन् । उनको उमेदवारी वागमती प्रदेशको खुलातर्फ १२औँ नम्बरमा छ ।
उनी भीमेश्वर नगरपालिकाको कृषि प्राविधिक (नायव पशुसेवा प्राविधिक) हुन् । उनी दोलखा जिल्ला कमिटीबाट अखिलको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेका थिए ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ले स्थानीय तहका कर्मचारीलाई राजनीतिक पार्टीसँग जोडिएर राजनीति गर्न प्रतिबन्ध लगाएको छ । स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनको दफा ९६मा भनिएको छ, “कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन हुँदैन ।”
तर, पाठक भने नगरपालिकाकामा नायव सुब्बासरहको पदमा नौ वर्षदेखि कार्यरत रहे पनि अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि मात्र नभएर केन्द्रीय सदस्य उमेदवार नै बनेका छन् ।
“उनी नगरपालिकाभित्र पनि कर्मचारीभन्दा राजनीतिक दलको प्रतिनिधिकै रूपमा प्रस्तुत हुँदै आएका थिए । तर नगरका जनप्रतिनिधिमा एमालेको बहुमत भएकाले त्यसकै आडमा दोलखा एमाले र अनेरास्ववियुको सांगठनिक काममा सक्रिय रहँदै आएका छन्,” नगरपालिकाका एक अधिकारीले बाह्रखरीसँग भने, “कार्यपालिकामा कारबाहीको प्रस्ताव गए पनि बहुमतकै आडमा जोगिँदै आएका छन् ।”
भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विशकसेन ढकालले उनी कृषि प्राविधिकका रूपमा कार्यरत रहेको पुष्टि गरे । तर, अहिले अनेरास्ववियुमा उम्मेदवार बनेको विषयमा भने आफूलाई कुनै जानकारी नरहेको उनले बताए । ढकालका अनुसार पाठकले नगरपालिकाको कर्मचारीबाट अहिलेसम्म राजीनामा दिएका छैनन् ।
नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले पनि पाठक पशुसेवा विभागमा कार्यरत कर्मचारी भएको जानकारी आफूसँग भए पनि राजीनामा दिए/नदिएको र राजनीति गर्न मिल्ने नमिल्ने विषयमा आफू जानकार नरहेको बताइन् ।
तर, पाठक भने पदबाट राजीनामा नदिईकनै उमेदवार बनेका छन् । उनले अनेरास्ववियुको केन्द्रीय सदस्यमा उमेदवारी दिएको स्वीकार गरे ।
“म अनेरास्ववियुको केन्द्रीय सदस्यमा उमेदवार भएको छु,” राजीनामा नदिई राजनीतिमा संलग्न हुन मिल्छ ? भन्ने बाह्रखरीको प्रश्नमा पाठकले भने, “अहिलेसम्म दिएको छैन । अब दिनुपर्ला नि !”