
काठमाडौं । चालु आर्थिक वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) २.७७ प्रतिशत रहेको छ । गएको वर्षको वैशाखमा महँगी ४.४० प्रतिशत थियो ।
वैशाखमा घिउ तथा तेल र तरकारी उपसमूहमा पर्ने सामग्रीको मूल्य बढी देखिएको छ । घिउ तथा तेल उपसमूहको विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत र तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशतले बढेको छ ।
त्यसैगरी, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ । मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको मूल्य ०.४८ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ ।
वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
प्रदेशगत रूपमा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महँगी सबैभन्दा धेरै ४.२९ प्रतिशत छ । यस्तै, मधेस प्रदेशको २.८१ प्रतिशत, वाग्मती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत छ ।
काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महँगी २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।