
पर्वत । हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज (असार २२) घरघरमा तुलसीको बिरुवा रोपी चतुर्मास व्रत थालनी गरिँदै छ । आजैदेखि चतुर्मास पर्व पनि सुरु हुँदै छ ।
यस दिन पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारिबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो । मोदी नदी र पवित्र मानिने कालीगण्डकीको संगमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ ।
यस्तै, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानास्थित शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आइपुगेका छन् । मोदीवेणीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँको संख्यामा श्रद्धालु आउने गर्छन् । सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालु आएका छन् ।
मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । सेतीवेणीमा पनि भजनकीर्तन आयोजना गरिएको छ ।
आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्किएपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ । रासस