site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारीलाई अब केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । १०३औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार (असार २१) ललितपुरमा आयोजित कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

कमजोरी सबै ठाउँबाट भएको उनले उल्लेख गरे । विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेकामा उनले जोड दिए । उनले भने, “सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्‍यो भनेर यहाँहरूले नै आवाज उठाउनुभएको होइन ? यहाँहरूले आन्दोलन गर्नुभएको होइन ? यहाँहरूले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिग्रिएको विषय नियन्त्रण नगरिए त्यो ठिक ठाउँमा आउन नसक्ने उनले बताए । “बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन,” उनले भने, “कुनै पनि कुराहरू बिग्रिएको छ भने, आचरणहीन भइसकेको छ भने आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्छ ।”

सरकार सहकारी नियन्त्रण गर्नेतर्फ नरहेको उनले स्पष्ट पारे । स्वनियमनमा छोडिदिँदा त्यसको पद्धति तोडिएको उनले आरोप लगाए । स्वनियमनको पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन र स्वतन्त्रता जरुरी भएको उनले बताए ।

“हामी सहकारी नियन्त्रण गरेर जाने भन्दैनौँ । सरकारले भनेको पनि छैन । स्वनियमको आधारमा चल्ने भनियो, स्वनियमताको आधारमा हामीले पद्धति तोड्यौँ,” उनले भने, “अहिले त्यो पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता । यसरी जानुपर्छ ।”

मन्त्री अधिकारीले सहकारी ठिक रहेको र यो नै राष्ट्रको मेरुदण्ड भएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्