site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अहिले पनि राजनीतिमा सक्रिय नै छु :  पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि राजनीतिमा सक्रिय रहेको बताएकी छिन् । 

विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबार विराटनगरमा सुरु भएको उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै भण्डारीले आफू अहिले पनि राजनीतिमा सक्रिय रहेको बताएकी हुन् ।
 
“पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउनुभयो, तपाईं के गर्दै हुनुहुन्छ ?” भन्ने पत्रकारको जिज्ञासामा भण्डारीले भनिन्, “म अहिले पनि सक्रिय राजनीतिमा छु ।”

Argakhachi Cement Island Ad

एमालेको अध्यक्ष बन्ने चर्चाबारे भने उनले समय आएपछि बताउने उल्लेख गरिन् । 

सम्मेलन उद्घाटन गर्दै भण्डारीले गठबन्धनका कारण महिला सहभागिता कम हुन पुगेको बताइन् । फरक दलले पुरुषहरूलाई उमेदवार बनाउँदा महिलाको संख्या अपेक्षितभन्दा कम भएको उनको भनाइ थियो । 

संविधानले नै महिला अधिकार सुनिश्चित गरेको भए पनि दलहरूबीचको चुनावी तालमेलका कारण पुरुष उमेदवारमात्र बनाउने गरिएको उनले चर्चा गरिन् । 

महिला सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिइन् । महिलाले जितेका धेरै स्थानीय तहमा धेरै राम्रो विकास भएको तर्क गर्दै भण्डारीले स्थानीय जनप्रतिनिधिले जनताको वितृष्णा चिर्न गतिशील भएर काम गर्नुपर्ने सुझाव दिइन् । 

भोलिसम्म चल्ने सम्मेलनमा स्थानीय तहमा देखिएका समस्या र उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिकाको विषयमा विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्