site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१२ अर्ब लगानीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दै, ईआईएको काम सुरु

काठमाडौं । सप्तरीको राजविराज नगरपालिका बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल निर्माणका लागि प्रारम्भिक काम सुरु भएको छ । प्रस्तावित ३०० शय्याको अस्पताल बनाउन ११ अर्ब ९८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

अस्पतालमा ७५ वटा भवन बन्ने भएका छन् । अस्पताल रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले बनाउन लागेको हो । समितिले अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पारेको छ । समितिले ईआईए प्रभावको विषयमा सर्वसाधारणसँग राय मागेको छ ।

Argakhachi Cement Island Ad

अस्पताल पूर्वाधार सरकारको स्वामित्वमा रहेको ६१ बिघा ६ कठ्ठा जग्गामा बनाउन प्रस्ताव गरिएको छ । ईआईएको परामर्शदाताको रूपमा ग्रिन ग्लोब इन्टरनेसनल प्रालि र डिजिकोन इन्जिनियरिङ कन्सल्ट प्रालिले काम गरिरहेका छन् । लामो समयदेखिको जग्गा विवादले अस्पताल परियोजना अन्योलमा परेको थियो । 

०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि अस्पताल पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका–१०, स्थित बिरौलमा ६२ बिगाह जग्गा खोजिएको थियो ।

जग्गा विवाद सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ असारमा भर्चुअल माध्यमबाट अस्पतालको शिलान्यास गरेका थिए । त्यसबेला कोरोना महामारी भएकाले प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट अस्पतालको शिलान्यास गरेका थिए । 

०७५ भदौ १ गते प्रधानमन्त्री ओलीले तत्कालीन प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्