
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा लाग्ने ट्यारिफ (आयात कर वा भन्सार शुल्क) २५ प्रतिशत बाट बढाएर ५० प्रतिशत बनाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
यो निर्णय सँगै धातु आयातमा गत मार्चयता ट्रम्पल दोस्रोपटक कर बढाएका हुन् । यसअघि मार्चमा स्टील आल्मुनियम आयातमा २५ प्रतिशत बनाएका थिए ।
बुधबारदेखि लागु हुने कर बढाउने ट्रम्पको यो कदमले अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने दाबी गरेको बीबीसीले जनाएको छ ।
यो कदमले अब अमेरिकामा स्टील र आल्मुनियमको मूल्य बढ्ने छ । यी धातुहरू कारदेखि क्यानमा प्याकेजिङ गरेर बेचिने खाद्य पदार्थसम्म विभिन्न उत्पादनको लागि प्रयोग गरिन्छ ।
तर, आलोचकहरूले यसले अमेरिका बाहिरका स्टील उत्पादकहरूलाई ठूलो नोक्सानी पुर्याउने, व्यापारिक साझेदारहरूबाट प्रतिशोधात्मक कदमहरूको सुरुआत गराउने र अमेरिकी धातु प्रयोगकर्ताहरूलाई खर्चिलो पर्ने बताएका छन् ।
कर बढाउने केही घण्टा अगाडिसम्म पनि प्रत्यक्ष प्रभावित कम्पनीहरूले यो योजना लागु हुने विश्वास गर्न सकिरहेका थिएनन् । उनीहरूले यो अस्थायी वा कुनै किसिमको व्यापारिक चाल हुनसक्ने आकलन गरेका थिए ।
अमेरिकी सरकारका अनुसार अमेरिका युरोपियन युनियनपछि विश्वको दोस्रो ठूलो स्टील आयातकर्ता हो । यसले धेरैजसो स्टील क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट आयात गर्छ ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण मानिने उद्योगहरूको सुरक्षा गर्ने भन्दै स्टीलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए ।
तर, साझेदारहरूसँग व्यापार सम्झौता भएपछि धेरै आयातमा यो कर लागेन र कम्पनीहरूको अनुरोधमा केही आयातलाई छुट दिइयो । मार्चमा ट्रम्पले यी छुटहरू रद्द गरेका थिए । बीबीसी