
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवापुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने उल्लेख गरे । अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको स्पष्ट पारे ।
बुद्धिजीवीहरूलाई राजनीतिक दलहरूको चाकरी नगर्न आग्रह गरे । भीसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गरे ।
"युवापुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र । त्यसैले मूल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने ? मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इन्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले सुरुदेखि कुनकुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेन्ट नै बनाउन लगाएँ," उनले भने ।
मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।