site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले भने– मौसमले हामीलाई धोका दियो

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू पार्टीको मध्यपहाडी अभियानअन्तर्गत शुक्रबार (जेठ ९) साँझ पोखरा आइपुगे । गण्डकी प्रदेशको राजधानी भएका कारण पोखरामा शनिबार बृहत् ‘जनसंवाद’ गर्ने तयारी थियो । तर, शुक्रबार रातिदेखि बिहानैसम्म पोखरामा वर्षा भयो ।

चिप्लेढुंगामा गर्ने भनिएको कार्यक्रम पानी परेपछि अन्योल भयो । शनिबार आयोजित कार्यक्रममा कास्कीबाहेक अरू जिल्लाबाट पनि नेता–कार्यकर्ता पोखरा आउने तयारी थियो । तर, मौसम प्रतिकूल हुँदा चिप्लेढुंगा छाडेर पार्टी प्यालेसमा कार्यक्रम गर्ने तयारी गरियो ।

“मौसम पूर्वानुमान महाशाखासँगको परामर्श र पार्टी केन्द्रीय कार्यालयको निर्णयानुसार आज पोखरा अनि आसपासका क्षेत्रमा मौसम बदली रहने भएकाले चिप्लेढुंगामा गर्ने भनिएको कार्यक्रम स्थगित गरी निम्न स्थानमा सारिएको छ,” माओवादी केन्द्रका नेताहरूले यो सन्देश सामाजिक सञ्जालमा प्रवाह गरे ।

Argakhachi Cement Island Ad

योसँगै कार्यक्रममा अरू जिल्लाबाट सहभागी हुन नेता–कार्यकर्ता नआउने भए । शीर्ष नेताको कार्यक्रम पोखरा महानगरपालिका–१२ को कार्यालयनजिक एसआरकेसी पार्टी प्यालेसमा तय गरियो ।

उक्त सन्देशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको परामर्श भनिएको थियो । तर, पोखरामा घाम चर्कियो । पानी पर्ने छाँट देखिएन ।

चिप्लेढुंगाको खुला सडकमा गरिने भनिएको कार्यक्रम एउटा पार्टी प्यालेसमा सीमित हुन पुग्यो । कार्यक्रममा सम्बोधनक्रममा प्रचण्डले आफूहरूलाई मौसमले ‘धोका’ दिएको बताए ।

“जुन उत्साहको साथ पोखरामा यो अभियानको सबैभन्दा ठूलो सभा हुने विश्वास गरिएको थियो, त्यो हुन सकेन,” प्रचण्डले भने, “अहिले बाहिर पानी पर्ने भएको हुनाले होइन, बेस्सरी घाम लागेकाले घाम छल्न कोठामा आएजस्तो हुन पुग्यो ।”

उनले विशाल जनसभा अर्को दिन गर्ने र त्यसनिम्ति पर्याप्त प्रारम्भिक तयारी गर्न पनि निर्देशन दिए । सोचेभन्दा पनि अभियान विशाल बनेको उनले जिकिर गरे ।

“तराई–मधेस जहाँ गयो त्यहाँका जुनसुकै पार्टीका स्थानीय सरकारमा नेतृत्व होस्, उनीहरूले हाम्रो यो अभियानलाई स्वागत, अभिनन्दन गर्न कोही पछि परेनन् । बरु, प्रतिस्पर्धाजस्तो भयो कसले राम्रो गर्ने, कसले राम्रो अभिनन्दन गर्ने भनेर भयो र यो जनताको अभियान राष्ट्रको अभियान सबैको साझा अभियन बन्न पुग्यो,” उनले भने ।

अभियानक्रममा तराई–मधेस क्षेत्रमा मात्र १० हजार अरू दलका नेता–कार्यकर्ता जोडिएको उनले जिकिर गरे । मध्यपहाडी लोकमार्गमा आउँदा समेत ठूलो मात्रामा माओवादीमा एकताबद्ध हुने क्रम चलेको उनको भनाइ थियो ।

उनले यो अभियानले ०६४ मा जस्तै देश माओवादीमय बन्दै गएको दाबी गरे । “मैले कपिलवस्तुमा पुग्दा त साथीहरूसँग भनेको पनि थिएँ– ६४ मा जस्तै देश माओवादीमय, देश प्रचण्डमय हुन पुगेको देखेँ मैले । र, निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा, बुढेसकालै लागे पनि प्रचण्डको काँधमा एउटा नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको र नेपाली जनताले त्यो जिम्मेवारी हामीलाई दिन तयार भएको महसुस गरेको छु मैले,” उनले भने ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्