site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारी : ११ महिनामा सात लाख ६० हजार जनाले लिए श्रम स्वीकृति
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सात लाख ६० हजार ३९१ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । ०८१ साउन १ गतेदेखि ०८२ जेठ मसान्तसम्मको अवधिमा उनीहरूलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।

०८२ जेठ महिनामा मात्र ७४ हजार ४६७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ११.४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा ६ लाख ८२ हजार ५६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान ७७  हजार ८२५ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिना अर्थात् २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, २०८२ वैशाखमा ७८ हजार ५० र जेठमा ७४ हजार ४४६ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना अर्थात २०८० साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, २०८१ वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा औसतमा प्रत्येक महिना ६९ हजार १२६ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुईहजार २८३ जनाभन्दा बढी छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्