
ए सहर र गाउँहरू,
ए झोला मूकदर्शी मुर्कट्टा महान् नाउँहरू,
कति भिर्छौ ए पार्टी चिह्नका झन्डा र झोला ?
कहिले फर्किने होला उल्टो खोला ?
कहिले घैँटोमा उज्यालो होला !
जहाँ भ्रष्ट–प्रमाणितहरू छानबिन समितिका मालिक बन्छन्
जहाँ कष्ट–दायकहरू अकर्मण्य आयोग कमिटीका सालिक बन्छन्
जहाँ नेताका खराउ पुज्नेहरू पदाधिकारी ज्ञाता बन्छन्
जहाँ ढुंगा हान्ने र टायर बाल्नेहरू नेता बन्छन्
जहाँ पत्रकारका क्यामेरा भ्रष्टका खल्तीमा बाँच्छन्
जहाँ समाचारहरू कुर्सीको महिमागानमा नाच्छन्
त्यहाँ देशलाई भड्खालोमा पार्ने हुलको जयजयकार गरेर फर्केको दिन
ए झोलाधारी,
तिमी बच्चा हुँदाको आत्माको गहिराइले खोज्दैन ?
तिमीलाई तिमीले मारेको तिमीभित्रकै बच्चाले सोध्दैन ?
तिम्रो मनले गुण र दोष बोल्दैन ?
तिमीलाई सुत्ने बेला पोल्दैन ?
चियागफमा उर्लिने तिम्रो तर्कशक्ति भोट हाल्दा किन काँप्दैन ?
मासु र एक हजारमा फकिने मनले उसको विगत किन नाप्दैन ?
६० साल अँधेरोमा राख्ने जमातलाई जन्मेदेखि काँधमा बोकेको बोक्यै छौ
एकोहोरो जनता जनता अनि केके धार, वाद खोकेको खोक्यै छौ
थाक्दैन तिम्रो झोले काँध ?
जाग्दैन तिमीभित्रको बेइमानीको बाँध ?
हे रमिता !
बेइमानी मञ्चभरि जात्रै छ
आवाज कफीगफमा मात्रै छ
आत्मसम्मानमा आगो लगाएर
जागिर पाउँछौ या घरको चुलो बाल्छौ साथी
कहिले गुण र दोष तर्कले निष्पक्ष हेर्न थाल्छौ साथी !
कति पुज्छौ यो कुर्सीको रेस ?
अशेष अशेष !
पलपल ठेस, तानिएको केश
जनता प्युसा हुने लोकतान्त्रिक चेस
कोहीले नदेख्ने रोएकी आमा र दुखेको देश !
नांगा बादशाहहरूको जय मनाउन पेस
तिमी रोज बदल्छौ मखुन्डो र भेष
छिः त्योभन्दा चिसो चुल्हो बेस !
आजीवन अर्कैको झोला बोक्न मस्त छौ
न्यायका आवाजमा अस्त छौ
प्रश्नहरूमा त्रस्त छौ
छ दशक अँधेरोमा राख्नेसित आश्वस्त छौ
र त तिमी बेफिक्री बिचौलिया हुन्छौ
नागरिक बन्न भोट दिई टोपलिया हुन्छौ
तिमी भोट देऊ या नदेऊ
ती कुनै ढोकाबाट कुर्सीमा पुग्ने नै छन् र तिमी कैदी छौ
तिमी रैती थियौ र रैती छौ
नसुनाऊ मलाई तिम्रो खोक्रो फुस्रो नागरिक भएको दम्भ
तन्त्रको नाम फेरेर मक्किएको छ तिम्रो बदन
मन्त्र धमिलाएर सेरिएर मक्किएको छ तिम्रो मन
के जवाफ दिन्छौ ए जब तिमी घर पुग्छौ
र तिम्रो छोराले सोध्छ,
“ए बा !
नक्कली लडाकु देखाएर हाम्रो पैसा लुट्दा या
नेपालीलाई भुटानी बनाएर बेच्दा तिमी झन्डामुनि नै थियौ ?
हाम्रो गाउँको खोलामा तुइन चुँडिँदा तिमी यै जुनीमै थियौ ?
कुन उम्मिदमा थियौ या स्वामीको उपहारको पिँधमा थियौ ?
चियाबगान बेचिँदा या सुन–जिमान निलिँदा तिमी निदमा थियौ ?
पढ्ने किताब नछापेर गाउँ नपुग्दा तिम्रो आवाज कहाँ गयो बा !
हाम्रो सिमाना र दाजुभाइ किचिँदा तिम्रो झन्डा कहाँ मर्यो बा !
बा !
तिम्रो झन्डा न्यायको डन्डा कैले बन्छ ?
देशको झन्डा तिम्रो झन्डा कैले बन्छ ?
झोला भिरेर पाएको तिम्रो स्वाभिमान कति दिन टिक्ला र बा !
आज त बिकेका छौ, तर तिम्रो झोला मेरो पुस्तामा पनि बिक्ला र बा ?”
साथी ! भन त के जवाफ दिन्छौ ?
वाह ! क्या रोल छ साथी
तर, बिकेको कलम र सिकेको कफीगफको के मोल छ साथी !
अझै कति मुकुन्डो र खोल छ साथी ?
यहाँ मलम र न्यायको कुन टोल छ साथी !
एक सेकेन्ड झोला हटाएर सुन,
के तिम्रो नेताको सुगा रटाइ भाषणमा
तुइनमा झुन्डिनेको सुख सुनिएको छ ?
छातीमा हात राखेर भन,
के तिमीसँग छोरासामु देखाउने मुख बचेको छ ?