
काठमाडौं । रानीपोखरी कर्नर टिम (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा जित निकालेको छ । आरसीटीले आफ्नो लिग चरणको अन्तिम खेलमा श्री कुमारी क्लबविरुद्ध ४–१ को जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसीटीलाई जित दिलाउन टोलीका विवेक राई र अजित गुरुङले समान दुई गोल गरे । जवाफमा श्री कुमारीका राजकुमार स्याङ्ताङले एक गोेल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ३६औँ मिनेटमा विवेकले टोलीलाई अग्रता दिलाए । ५४औँ मिनेटमा अजितले अग्रतालाई दोब्बर बनाए । ५९औँ मिनेटमा पुनः गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्याए । आरसीटीले ८२औँ मिनेटमा अजितको अर्काे गोलबाट ४–० को अग्रता बनायो ।
यसको दुई मिनेटपछि कुमारीका राजकुमारले एक गोल फर्काए । तर, उनको गोल श्री कुमारीलाई खेलमा फर्कन पर्याप्त थिएन ।
यो नतिजासँगै आरसीटीले जितका साथ ‘बी’ डिभिजन लिग टुंग्गााएको छ । आरसीटीले १६ अंक बनाउँदै लिग टुंग्गाएको हो । यस संस्करण आरसीटीले १३ खेलमा पाँच जित, तीन बराबरी र पाँच हारबाट १६ अंक बनाएको हो ।
लिगमा आरसीटीले नयाँबस्ती युथ क्लबलाई २–१, सरस्वती युथ क्लबलाई ४–३, च्यासल युथ क्लबविरुद्ध ३–२, ब्रिगेड ब्वाइज क्लबलाई २–१ र श्री कुमारी क्लबलाई ४–१ ले पराजित गरेको थियो ।
खेलमा हार व्यहोरेको श्री कुमारीले हारसहित ‘बी’ डिभिजन लिग टुंग्याएको छ । कुमारीले १६ अंकका साथ लिग टुंग्याएको हो । यस संस्करणमा टोलीले १३ खेलमा पाँच जित, एक बराबरी र सात हारसहित १६ अंक जोडेको छ ।
लिग चरणमा श्री कुमारीले सरस्वती युथ क्लबलाई २–०, बासँबारी क्लबलाई १–०, नयाँबस्ती युथ क्लबलाई २–०, श्री टुसाल युवा क्लबलाई २–१ र झापा फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो ।