
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदै छ ।
असार २ देखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागु हुने नियम रहेको छ । “कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू (टाइ परेमा समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने छन्,” नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दिपक आचार्यले भने ।
चारदिने प्रतियोगितामा ३८ प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । साथै, प्रतियोगितामा १५ उत्कृष्ट एमेच्योर खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले उपाधिसहित तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले एक लाख ८५ हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले एक लाख पाँच हजार र पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर सात लाख ४२ हजार ५०० नगद पुरस्कार पाएका नीरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन् । तोरण शाही (चार लाख नौ हजार ५००) दोस्रो र भुवन नगरकोटी (तीन लाख ६४ हजार ५००) तेस्रो स्थानमा छन् ।
भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्रबहादुर राई र सुबास तामाङले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अनुमान छ ।
चारदिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, “यो सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशासहित हुँदै छ । खेलाडीहरू निकै जोशमा छन्, उनीहरू सिजनलाई सफलतापूर्वक टुंग्याउन तत्पर छन् । सूर्य नेपाल प्रा.लि.लाई नेपाली गल्फको निरन्तर प्रगतिमा दिएको साथका लागि हामी हार्दिक धन्यवाद दिन्छौँ ।”