site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्चिमबाट आएको प्रणालीले काठमाडौंमा वर्षा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा वर्षा सुरु भएको छ । काठमाडौंको उत्तरी क्षेत्रबाट पानी पर्न सुरु भएको हो । पश्चिमबाट आएको प्रणालीले वर्षा गराएको हो ।

“सुदूरपश्चिमबाट वर्षा गराउँदै आएको प्रणाली काठमाडौं आइपुगेको छ,” मौसमविद् विनु महर्जन भन्छिन्, “काठमाडौंको उत्तरी क्षेत्रबाट वर्षा सुरु भएको छ ।” 

काठमाडौंका अन्य क्षेत्रमा पनि अब वर्षा हुने उनको भनाइ छ । तर, हल्का वर्षा हुने उनी बताउँछिन् ।

“सुदूरपश्चिमबाट आएको प्रणाली काठमाडौं आइपुग्दा कमजोर कमजोर भएको छ, त्यसैले आज काठमाडौंमा ठूलो वर्षाको भने सम्भावना छैन,” उनले भनिन् । 

काठमाडौंमा गए राति र बिहान पनि वर्षा भएको थियो । बिहान अबेरबाट भने केही समय मौसम सफा भएपछि पुनः वर्षा सुरु भएको हो । 

आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा वर्षाको सम्भावना छ । बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका धेरै स्थानमा बादल बनेर वर्षा हुने अवस्था आएको हो ।

बाहिरबाट आएको प्रणाली र स्थानीय प्रणाली मर्ज हुँदा पानी पार्ने सिस्टम विकास हुँदा देशभरका धेरै स्थानमा वर्षा भएको विभागको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्