site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘लालीबजार’ घोषणा, को हो निर्देशक ?

काठमाडौं । षट्कोण आट्र्सले नयाँ चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितेको उक्त व्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो ।

चलचित्रका लेखक तथा निर्देशक यम थापा रहेका छन् । चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् । कार्यकारी निर्मातामा निर्देशक प्रदीप भट्टराई छन् ।

निर्माता बानियाँले षट्कोण आट्र्सले स्क्रिप्टकै खोजीको क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत भएको बताए ।

चलचित्रको ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गरिएको छ । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ । ‘लालीबजार’ का लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ । रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको संकेत गर्छ । 

एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहित गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपस्टिक ठाडो अवस्थामा रहेको छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ ।

‘लालीबजार’का लागि कलाकार छनोट प्रक्रियामा रहेको निर्माता बानियाँले जानकारी दिएका छन् । चलचित्रको छायांकन दसैँपछि सुरु हुनेछ ।  

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्