site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेश सुरक्षा गोष्ठीको निष्कर्ष : सीमा तस्करी र आन्दोलन मुख्य चुनौती

विराटनगर । कोसी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । संघीय सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा बुधबार विराटनगरमा सुरक्षा गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठीले साइबर अपराध, लागूऔषध ओसार पसार, सीमापार तस्करी र राजावादी आन्दोलनलाई मुख्य सुरक्षा चुनौती मानेको छ । 

Argakhachi Cement Island Ad

यस्ता चुनौती समाधान गर्न अधिकतम सुरक्षा सतर्कता अपनाउने निर्णय भएको कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । 

गोष्ठीमा गृहमन्त्री लेखकले योजना बनाएरै सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए । उनले ३० दिनभित्र अनुभूति हुनेगरी तस्करी रोकिनुपर्ने बताए ।
 
यसैबीच बुधबार नै गृहमन्त्रीलाई भेटेका विराटनगरमा उद्योगी व्यवसायीले बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारका कारण राष्ट्रको आर्थिक, सामाजिक र सुरक्षात्मक संरचनामा गम्भीर असर पुगिरहेको भन्दै ध्यानाकर्षण गराए । 

यसले स्वदेशी उद्योग एवं उत्पादनको प्रतिस्पर्धात्मक क्षमता घटेको तथा मुलुकको उत्पादनशील क्षेत्र, उत्पादकत्व र रोजगारी नराम्ररी प्रभावित भएको बताउँदै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । 

उनले भने,“भारतीय बजारमा शून्यदेखि १२ प्रतिशतसम्म जी.एस.टी. कायम रहेका दैनिक उपभोग्य तथा अत्यावश्यकीय वस्तुहरूको आयात शुल्क तथा करका दर न्यून गरिनुपर्छ ।”

अवैध कारोबारका कारण सरकारी संयन्त्रमा भ्रष्टाचार मौलाउने, कानुनी शासन कमजोर हुने जोखिम रहने उनले बताए । तस्कर संयन्त्र मौलाए मुलुकमा लागुपदार्थ, हतियार, मानव तस्करीलगायत अवैध सामग्री समेत भित्रने भई राष्ट्रिय सुरक्षामै चुनौती उत्पन्न हुने भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । 

गृहमन्त्री लेखकले संघको चासोलाई गम्भीरतापूर्वक लिँदै तस्करी र अवैध कारोबार नियन्त्रण सरकारको प्राथमिकतामा रहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्