-1743338749.jpg)
काठमाडौं । रवीन्द्र मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबी गर्दै श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् ।
मंगलबार दर्ता रिटलाई सर्वोच्च प्रशासनले बुधबारको पेसी दिएको छ । सारिकाले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधिवक्ता रमेश बडाल, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाएकी छन् । बन्दीप्रत्यक्षीकरण रिटमा मिश्रलाई गैरकानुनी रूपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमति दिइरहेको दावी गरिएको छ ।
चैत १५ मा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा भएको तीनकुने प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएपछि त्यही दिन मिश्र पक्राउ परेका थिए । संयुक्त जनआन्दोलन परिचालन समितिमा मिश्र सदस्य सचिवको जिम्मेवारीमा छन् ।