
काठमाडौं । एक वर्षअघि गम्भीर कार दुर्घटनाबाट गुज्रिएका कमेडियन सुशान्त बस्यालले आफ्नै जीवनको ट्र्याजेडीलाई हाँसोमा रूपान्तरण गर्दै पस्किएको स्ट्यान्डअप कार्यक्रम ‘एक्सिडेन्टली फन्नी: ट्र्याजेडी टु कमेडी’ आइतबार साँझ उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
गौशालास्थित स्टुडियो थिएटरमा आयोजित कार्यक्रममा उत्साहित भीड थियो । टिकट मूल्य ५०० रुपैयाँ भए पनि दर्शकले प्रस्तुतिको मूल्य त्योभन्दा धेरै महसुस गरे। कार्यक्रम सुरु भयो सुमन कोइरालाको जीवन्त होस्टिङले, त्यसपछि प्रतीक अधिकारीको रमाइलो प्रस्तुति दिए । तर साँझको मुख्य आकर्षण थिए सुशान्त स्वयम् ।
करिब एक घण्टा लामो एकल प्रस्तुतिमा उनले दुर्घटनापछि भोगेका पीडा, डर, संघर्ष र पुनःस्थापनाको यात्रा कमेडीको माध्यमबाट बाँडे ।
दर्शकहरूले कार्यक्रमलाई 'इमोशनल एन्ड इनस्पायरिङ' भन्दै सामाजिक सञ्जालमा खुलेर प्रतिक्रिया दिएका छन् ।
दुई घण्टाको कार्यक्रमले दर्शकलाई मात्र हँसाएन, उनीहरूको मनमा गहिरो प्रभाव पनि छोड्यो । एक वर्षअघि अस्पतालको बेडमा मृत्युसँग लडिरहेका सुशान्तले स्टेजमा फर्केर दिएको यो कमब्याक साँच्चिकै प्रेरणादायी बनेको दर्शकको प्रतिकृया थियो ।