site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण अफ्रिकाका गोरा नागरिकलाई शरणार्थी दर्जामा अमेरिका भित्र्याउँदै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभरबाट आउने अधिकांश शरणार्थीलाई प्रवेशमा रोक लगाएको छ । तर, दक्षिण अफ्रिकाका गोरा अल्पसंख्यकलाई शरणार्थीको दर्जा दिएर स्वागत गर्दै छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कार्यक्रमअन्तर्गत शरणार्थी दर्जा पाउने गोरा दक्षिण अफ्रिकीको पहिलो समूह आइतबार जोहान्सबर्गको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेको छ ।

Argakhachi Cement Island Ad

समाचार संस्था रोयटर्सका एक पत्रकारका अनुसार, गोरा नागरिकको लामो पंक्ति पासपोर्टमा छाप लगाउन पर्खिरहेको थियो । यी यात्रु चार्टर फ्लाइटका लागि डिपार्चर लाउन्जमा प्रवेश गर्नुअघि त्यहाँ उभिएका थिए ।

दक्षिण अफ्रिकी यातायात विभागका प्रवक्ता कोलेन म्सिबीले रोयटर्सलाई भने, “तिनीहरूमध्ये कोहीसँग आपराधिक मुद्दा चलिरहेको भएका जाँच गर्ने सर्तमा ४९ यात्रुलाई अमेरिका उड्न अनुमति दिइएको छ ।”

अमेरिका जाँदै गरेका यी व्यक्तिसँग कुरा गर्न पत्रकारलाई अनुमति दिइएन । म्सिबीका अनुसार, तिनीहरू वासिङटन डीसीनजिकैको डुल्स एयरपोर्ट हुँदै टेक्सास जान लागेका थिए । स्थानीय समया‍नुसार, बेलुका ८ः३० सम्म उनीहरू विमानमा चढिसकेका थिए । तर, उडान भएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोरा दक्षिण अफ्रिकी विशेष गरी अफ्रिकानर्स (दक्षिण अफ्रिकामा सबैभन्दा लामो इतिहास भएका गोरा समुदाय)लाई शरण दिने प्रस्तावले दुवै देशबीच विवाद बढाएको छ ।

ट्रम्प प्रशासनले अमेरिकामा शरणार्थी प्रवेशमा सामान्यरूपमा रोक लगाएको भए पनि दषिण अफ्रिकी गोरा अन्यायपूर्ण रंगभेदको सिकार भएको दाबी गर्दै अफ्रिकानर्स (मुख्यतः डच अर्थात् सुरुका बस्नेहरूका वंशज)लाई प्राथमिकतामा राख्दै शरणार्थीको दर्जा दिन ट्रम्पले आदेश दिएका हुन् ।

रोयटर्सबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्