
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट अर्को हप्ता उडान भर्ने अक्सियम मिसन ४ (एएक्स–४) को पाइलट भारतीय हुनेछन् । यो मिसनअन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)तर्फ उडान गरिने बीबीसीले जनाएको छ ।
भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्ल यो मिसनको चार सदस्यीय बहुर्राष्ट्रिय दलको सदस्य हुनेछन् । उनीहरूले आईएसएसमा दुई हप्ता बिताउनेछन् ।
१० जुनमा उडान भर्ने यो मिसनप्रति भारतमा ठूलो उत्सुकता जगाएको छ । ग्रुप क्याप्टेन शुक्ल अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय र आईएसएस भ्रमण गर्ने पहिलो भारतीय हुने समाचारमा उल्लेख छ ।
यो यात्रा भारतीय कस्मोनट राकेश शर्माको १९८४ मा रूसी सोयुज अन्तरिक्षयानमा अन्तरिक्ष यात्रा गरेको ४१ वर्षपछि हुन लागेको हो । उनले त्यतिबेला करिब आठ दिन अन्तरिक्षमा बिताएका थिए ।
एएक्स–४ को नेतृत्व पूर्वनासा अन्तरिक्ष यात्री पेगी ह्विटसनले गर्नेछिन् । उनी दुई पटक आईएसएसको कमाण्डर रहिसकेकी र सयौँ दिन अन्तरिक्षमा बिताएकी तथा १० पटक स्पेसवाक गरिसकेकी छिन् ।
यस दलमा पोल्यान्डका स्लावोज उज्नान्स्की–विस्निएव्स्की र हंगेरीका टिबोर कापु पनि छन् । भारतीय अन्तरिक्ष यात्री जस्तै उनीहरू पनि ४० वर्षभन्दा पछि आफ्नो देशलाई प्रतिनिधित्व गरेर अन्तरिक्षमा पुग्नेछन् ।
विज्ञहरूले पाइलटको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरूले मिसन कमाण्डरको डेपुटी हुनेछन् । उडान, डकिङ, अनडकिङ र पृथ्वीमा फर्किने प्रक्रियामा अन्तरिक्षयान सञ्चालनमा सहयोग गर्नेछन् ।
२५ मे देखि क्वारेन्टिनमा रहेका यी अन्तरिक्ष यात्रीहरूले मंगलबार राति पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनीहरूले ‘जोय’ नामक सानो सेतो खेलौना देखाए, जुन एएक्स–४ को पाँचौँ सदस्य हुनेछ । बीबीसी