site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

प्रचलनमा आएका शासन प्रणालीमा सबैभन्दा उन्नत र उत्तम मानिन्छ ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ । नेपालीले राजाको प्रत्यक्ष अधिनायकवादी शासनविरुद्ध सङ्घर्ष गरेर ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ स्थापना गरेको पनि एक दशकभन्दा बढी भइसक्यो । विडम्वना, राजनीतिक दलका नेताहरूको आचार र विचारका कारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नहुँदा र त्यसभन्दा पनि राजनीतिक दलका नेताले संघीय लोकतान्त्रिक गणतन्त्र अनुरूपमा आचरण नगर्दा जनताबाट अस्वीकृत समूहले समेत अहिले व्यवस्थालाई नै चुनौती दिने आँट गरेका  हुन् ।  तिनले जनतामा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नै बेठीक पो हो कि भन्ने भ्रम उत्पन्न गर्ने भरमग्दुर प्रयास गरेका छन् ।

Argakhachi Cement Island Ad

संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिनेहरू देशमा वंश विशेषको ‘कुलीनतन्त्र’ स्थापना गर्न चाहन्छन् । त्यसमा पनि निकट अतीतमा प्रत्यक्ष शासन चलाएर लोकतन्त्रविरुद्ध अधिनायकवादी महत्त्वाकांक्षा प्रदर्शन गरिसकेका पात्रलाई अगाडि सारेर । तैपनि, नेपाली जनता तिनको आन्दोलनलाई निस्पृहतापूर्वक हेरिरहेका देखिन्छन् । सम्भवतः नेताहरूप्रतिको वितृष्णा नै यसको मूल कारण हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए यता देशले विकास नै नगरेको भने होइन । भौतिक संरचना विशेषगरी सडक निर्माण र विद्युत् उत्पादनको अवस्था हेर्ने हो भने तुलना नै नहुनेगरी प्रगति भएको देखिन्छ । आर्थिक सामाजिक विकासमा पनि देशले छलाङ नै मारेको छ । तैपनि, जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव नदेखेर हुनुपर्छ जनमानसमा अहिलेको अवस्थाप्रति  आक्रोश देखिएको छ । 

दुर्भाग्य, जनआक्रोशका कारक राजनीतिक दलका प्रमुख नेताहरू नै व्यवस्था जोगाउने मोर्चामा अगाडि सरेका छन् । उनीहरूको बोलीमा ध्वनित हुने अहङ्कार र आचरणमा देखिने विलासी जीवन शैलीले नै मूलतः जनतामा आक्रोश उत्पन्न गरेको हो । यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको हित गर्ने हो नेताहरूको बकबक पहिले बन्द हुनुपर्छ भ्ने तिनले बुझुन् । कदाचित्, बुझ्न खोज्दैनन् भने तिनका कार्यकर्ताले आफ्ना नेतालाई बुझ्नेगरी सम्झाउनुपर्छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रमुख दलका नेताहरूले ‘डन क्विहटे’ प्रवृत्ति त्यागे हुन्छ । साथै तिनले जनताका आँखामा बिझाउने विलासी जीवन शैली त्याग्नुपर्छ । मुलुकलाई जति दोहन गरे पनि हुन्छ भन्ने मानसिकता छाड्नुपर्छ । नेताहरूको आचरणमा सुधार देखिनेबित्तिकै जनता स्वयंले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नेछन् । किनभने अहिलेको अवस्था उत्पन्न भएकै नेताहरूको आचरणका कारणले हो ।

सबै नेपालीलाई रैतीबाट नागरिक भएको अवसरमा गणतन्त्र दिवसको शुभकामना !
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्