
काठमाडौं । जेठ ९ गते शुक्रबार, अर्थात् सहिद स्मारक ‘बी’ डिभिजन लिगको फाइनलको दिन । प्रतियोगिताको च्याम्पियन बनेको थियो, प्लानिङ ब्वाइज युनाइटेड । प्रतियोगिता सकिएसँगै पुरस्कार वितरण समारोह सुरु भयो । अन्य विभिन्न विधासँगै उत्कृष्ट खेलाडीको नाम घोषणा गरियो– प्रतापसिंह राई अर्थात् सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडका विंगर ।
दशरथ रंगशालाको मध्यभागबाट सबैभन्दा उत्कृष्ट खेलाडीमा आफ्नो नाम सुन्दा प्रतापले सुरुमा विश्वासै गर्न सकेनन् । उनले आफू उत्कृष्ट खेलाडी चयन हुन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । नाम घोषणा भएपछि फोटो पत्रकारका क्यामेरा प्रतापतर्फ मोडियो । लिगको अन्तिम दिन रंगशाला पुगेका सयौँले तालीले उनलाई मञ्चमा स्वागत गरे ।
“मैले यसको बारेमा अपेक्षा पनि गरेको थिइनँ,” २७ वर्षीय प्रतापले बाह्रखरीसँगको कुराकानीमा सुनाए, “प्रतियोगितामा आफ्नो तर्फबाट केही नसोची शतप्रतिशत दिएँ । अहिले त्यसको परिणाम पाएको छु । धेरै खुसी छु ।”
सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट च्याम्पियन बन्दै शीर्ष डिभिजनको यात्रा तय गर्दा प्लानिङमा प्रतापको प्रदर्शन उत्कृष्ट रह्यो ।
प्लानिङ ब्वाइजमा अनुबन्ध भएको तेस्रो सिजन ‘सी’ डिभिजबाट ‘ए’ डिभिजनमा बढुवा हुनुले प्रतापका निम्ति पनि क्लबसँगको यात्रा विशेष बन्यो । क्लब च्याम्पियन बन्दा प्रतापले उत्कृष्ट खेलाडीको अवार्ड चुमे ।
प्लानिङले शीर्ष डिभिजन लिगको यात्रा सुनिश्चित गर्दा प्रतापले कुल चार गोल गरे । विंगरबाट बल विपक्षीको पोस्टमा पुर्याउन माहिर उनले ११ असिस्ट दिए । यही प्रदर्शनले नै प्रतापलाई लिगको सर्वोत्कृष्ट खेलाडी बनायो ।
कटारीको भेट्रान्स क्लबदेखि ‘ए’ डिभिजन लिगसम्म
उदयपुरको कटारी नगरपालिका–३ का प्रताप परिवारको जेठो र एक्लो छोरा हुन् । परिवारमा उनीसँगै बहिनी छन् ।
अहिले उनको प्रदर्शनको स्तरले जुन लय लिएको छ । सजिलै बनेको होइन । प्रतापले आफ्नो खेलको स्तर उत्कृष्ट बनाउन थुप्रै चुनौती सामना गरे ।
१४ वर्षको उमेरमा फुटबलमा पाइला टेक्दा प्रतापसँग फुटबल बुट पनि थिएन । उदयपुरको कटारी नगरपालिका–३, शान्तिचोकमा कटारी भेट्रान्स क्लबले दैनिक प्रशिक्षण गराउँथ्यो । भेट्रान्सका सिनियर दाजुहरूको खेल हेर्दा–हेर्दै उनको मन पनि फुटबलमै बस्यो । उनी नांगै खुट्टा मैदानमा कुद्न पनि पछि परेनन् ।
“सानोमा दाइहरूले खेलेको हेर्थें मात्रै । पछि मलाई पनि फुटबल मन पर्न थाल्यो । खेल्न मन लाग्यो । दाइहरूसँग नै खेल्न थालेँ,” सुरुआती दिन सम्झँदै प्रतापले भने, “विस्तारै यसैमा लगाव बस्यो । सुरु–सुरुमा म खाली खुट्टा नै खेल्थेँ । मसँग फुटबल बुट पनि हुँदैनथ्यो ।”
मध्यमवर्गीय कृषक परिवारका उनीसँग आफैँ बुट किनेर लगाउने अवस्था थिएन । नगरस्तरको प्रतियोगितामा बल्ल पहिलोपटक फुटबल बुट लगाएको सम्झन्छन्, प्रताप ।
“शान्तिचोकको ‘साका’भन्ने स्थानीय क्लबबाट सुरुमा खेलेँ । मेरो गेम देखेर कटारीको कटारी–११ क्लबले टिममा लियो,” बाह्रखरीसँगको कुराकानीमा उनले भने, “एउटा प्रतियोगिता खेल्नलाई कटारी–११ले नै मलाई पहिलोपटक फुटबल जुत्ता किनिदिएको थियो ।” पहिलोपटक बुट लगाउँदा निकै अफ्ठ्यारो महसुस गरेको उनले सुनाए ।
यस संस्करण लिग विजेता प्लानिङको बायाँ ‘विंग’मा आफूलाई अब्बल प्रमाणित गरेका प्रताप सुरुवातदेखि यो पोजेसनमा आएका होइनन् । उनी सुरुवाती दिनमा डिफेन्सबाट खेल्थे । गाउँमा ‘ब्याक्की’ भनिने । पछि सिनियर दाजुहरूको सल्लाहमा उनी अग्रपंक्तिमा आए ।
गाउँको क्लबले प्रतापको करियरमा अभिभावकीय भूमिका खेल्यो । अफ्ठ्यारो पर्दा क्लबले नै हौसला दिने गरेको प्रताप सुनाउँछन् । अहिले लिगको उत्कृष्ट खेलाडी चयन हुँदा प्रतापले आफ्नो धरातल भुलेका छैनन् । उनी यो यात्राको श्रेय भेट्रान्स क्लबलाई दिन हिच्किचाउँदैनन् ।
प्रतापको करियरमा कटारी भेट्रान्सको योगदान यतिमै सीमित छैन । उनका निम्ति सरुवाती दिनमा भेट्रान्स अभिभावक समेत बन्यो । भेट्रान्स उनको अभावमा पूरक बन्यो र निराशामा निर्देशक पनि । भेट्रान्सको यही गुणले आफूलाई हालको स्थानमा पुर्याएको प्रतापको ठहर छ ।
“म निराश हुँदा पनि तैँले धेरै राम्रो खेल खेल्छस् । कडा मिहिनेत गर । हार नमान भन्दै हौसला दिनुहुन्थ्यो । सायद उहाँहरूले मलाई मार्गनिर्देशन नदिनुभएको भए म अहिले यहाँसम्म आइपुग्ने थिइनँ होला,” उनी भन्छन् ।
प्लानिङसँगको यात्रा
गाउँमा राम्रो खेल्ने भएपछि उनी सबैको नजरमा परे । प्रतापको खेल देख्ने सबैले ‘तिम्रो गेम राम्रो छ’ भन्थे । त्यस बीतमा सिन्धुलीको दुधौली स्पोर्ट्स क्लबले ‘सी’ डिभिजन लिगको छनोट खेल्ने भयो । प्रताप पनि क्लबमा जोडिए ।
समूह चरणमा दुधौलीको निम्ति उनको नाममा एक गोल रह्यो । उनी खेलमा ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । प्रतियोगिताको दुई खेलमध्ये एकमा जित र अर्कोमा हार व्यहोरेपछि टिमले छनोट पार गर्न सकेन । तर, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको यो खेलपछि उनी प्लानिङ ब्वाइजको नजरमा परे ।
“छनोटमा राम्रो खेल देखेपछि प्लानिङ ब्वाइज युनाइटेडले मलाई बोलाएको थियो । म टिमले बोलाएपछि तीन वर्षअघि प्लानिङ आएँ,” प्रतापले भने ।
बाल्यकालदेखि परिवारको समर्थन
प्रतापले बाल्यकालमा आर्थिक अभाव निकै भोगे । तर, परिवारको साथ भने उनलाई सधैँ रह्यो । फुटबलमै लागेका कारण उनले परिवारको कुनै रोकतोक झेल्नुपरेन । अहिले उनको सफलताको पहिलो प्रशंसक नै परिवार भएको सुनाउँछन्, प्रताप ।
“मलाई परिवारले सानैदेखि दबाब दिनुभएन । म ‘बी’ डिभिजन लिगमा एमभीपी बनेको थाहा पाएपछि उहाँहरू आफैँले गाउँमा सुनाउनुभएको रहेछ । अब राष्ट्रिय टोलीबाट खेल्नुपर्छ भनेर भन्नुभएको छ,” प्रताप भन्छन् ।
अबको लक्ष्य राष्ट्रिय टोली
फुटबलमा होमिएको एक दशक पार गरिसके पनि प्रतापले पछिल्लो पाँच वर्षयता भने यसैमा केही गर्ने अठोट बनाएका छन् । फुटबलमा विभिन्न क्लबको जर्सी लगाएका प्रतापले अहिले राष्ट्रिय टोलीको सपना बुनिरहेका छन् ।
उनी भन्छन्, “शीर्ष डिभिजनमा पुगेको छु । प्लानिङबाटै शीर्ष डिभिजन खेल्ने योजना छ । अब राष्ट्रिय टिममा पर्न एउटा खुड्किलो पार गर्न बाँकी छ । बच्चैदेखिको राष्ट्रिय टोलीबाट खेल्न सपना मात्र बाँकी छ । त्यसैले ममाथि थप जिम्मेवारी थपिएको छ ।”
सबैबाट हौसला पाएको र राष्ट्रिय टोलीमा पुगोस् भन्ने अपेक्षा राखेको उनले सुनाए । भने, “मलाई पनि थप मिहिनेत गर्नुपर्छ भनेर आभास भएको छ । राष्ट्रिय टिममा स्थान बनाउन सक्नेगरी तयारी गर्नेछु ।”