
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सान फ्रान्सिस्को तटनजिकैको एउटा दुर्गम टापुमा रहेको कुख्यात अल्काट्राज जेल पुनः खोलेर विस्तार गर्न निर्देशन दिएको बताएका छन् । यो जेल ६० वर्षभन्दा बढी समयदेखि बन्द छ ।
“धेरै लामो समयदेखि अमेरिकालाई हिंसाका पक्षपाती, अपराधी र समाजका फोहोरहरूले असर गरिरहेका र उनीहरूले दुःख र पीडामात्र दिइरहेका छन् । पहिले हामी गम्भीर राष्ट्र थियौँ र खतरनाक अपराधीलाई टाढा राख्न ढिला गर्दैनथ्यौँ, अब त्यस्तै हुनुपर्छ,” ट्रम्पले ट्रुथमा भनेका छन् ।
उनले कारागार विभाग, न्याय विभाग, एफबीआई र होमल्यान्ड सुरक्षाजस्ता एजेन्सीलाई अल्काट्राज जेललाई विस्तार र पुनर्निर्माण गरी अमेरिकाका सबैभन्दा निर्दयी अपराधीलाई राख्ने व्यवस्था गर्न निर्देशन दिएको बताएका छन् ।
ट्रम्पको यो आदेश संघीय कैदी र आप्रवासी बन्दीलाई कहाँ र कसरी राखिने भन्ने विषयमा उनको व्यापक योजनाको अंश भएको बताइएको छ । तर, यो योजना धेरै महँगो र चुनौतीपूर्ण हुने बताइन्छ । संरचनागत कमजोरी र टापुमा सामग्री आपूर्ति गर्न अत्यधिक खर्च लागेको भन्दै सन् १९६३ मा यो जेल बन्द गरिएको थियो ।
आधुनिक मापदण्ड अनुसार, यसलाई पुनर्निर्माण गर्न ठूलो लगानी चाहिने बताइएको छ । कारागार विभागले यस्तै संरचनागत समस्याका कारण अन्य जेल बन्द गरिरहेको अवस्थामा यस जेललाई भने सञ्चालन गर्न भनिएको एपीले उल्लेख गरेको छ ।
प्रशान्त महासागरको शक्तिशाली प्रवाह र चिसो पानीले घेरिएको यो जेल ‘द रक’को नामले चिनिन्थ्यो । ग्याङ्स्टर एल कपोन, जर्ज म्याचिन गन, केलीजस्ता कुख्यात अपराधी यहाँ कैद थिए ।
यस जेलले अमेरिकी संस्कृतिमा गहिरो छाप छोडेको बताइन्छ । सिन कनेरी, निकोलस केज अभिनित चलचित्र ‘द रक’लगायत धेरै चलचित्रको कथाको विषय यो जेल बनेको छ ।
एफबीआईका अनुसार, यो जेल सञ्चालनमा रहेको २९ वर्षमा ३६ कैदीले १४ पटक भाग्ने प्रयास गरेका थिए । तर, प्रायः सबै पक्राउ परे वा मारिएका थिए ।
एपीबाट ।