
विराटनगर । विराटनगर महानगरपालिकाले सहरी क्षेत्रमा लगाइएका सोलारबत्ती हटाउन थालेको छ । पुष्पलाल चोकबाट दक्षिणतर्फ मेयर भीम पराजुलीको कार्यकालमा जडान गरिएका सोलारबत्ती हटाउन थालिएको हो ।
सोलारबत्ती एसियाली विकास बैंकको सहयोगमा सडक निर्माण गर्दा निःशुल्क जडान गरिएको थियो । वर्तमान मेयर नागेश कोइरालाले पैसा खर्च गरेर बिजुलीबाट बल्ने बत्ती जडान गर्न थालेका हुन् ।
यसबारे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै घोषणा गरिएको थियो । तर, चालु आर्थिक वर्षको असारमै सोलारबत्ती हटाउन थालिएको हो । नयाँ बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउछ ।
महानगरले सोलारबत्ती हटाएर बिजुलीबाट बल्ने एलईडी बत्ती जडान गर्ने तयारी गरेको छ । अब बत्ती प्रयोग गरेबापत महानगरले नेपाल विद्युत् प्राधिकरणलाई महसुल तिर्नुपर्ने हुन्छ । महानगरले अहिले नै प्राधिकरणलाई विद्युत् बक्यौताबापतको करोडौँ रकम बुझाउन बाँकी छ ।
सोलारबत्ती सूर्यको प्रकाशबाट चार्ज भएर साँझ परेपछि आफैँ बल्थे र बिहान घाम उदाएपछि निभ्थे । अब बिजुलीबाट बल्ने बत्ती स्विचिङ गरेर बाल्ने र निभाउनुपर्ने हुन्छ ।
मेयर नागेश कोइरालाले सर्वाजनिक कार्यक्रममा आफूले 'उज्यालो विराटनगर अभियान'लाई साकार गरेको दाबी गर्दै आएका छन् ।
पूर्वमेयर भीम पराजुलीले पालिकाको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले उल्टो बाटो हिँडेजस्तो देखिएको टिप्पणी गरे ।
‘यो त उल्टो बाटो हिँडेजस्तो भयो । सोलार नि:शुल्क जोडिएको थियो, बाल्दा पनि पैसा लाग्दैन थियो । अब नयाँ बत्ती जोड्न पनि पैसा लाग्ने भयो, महसुल पनि बुझाउनुपर्ने भयो,’’ पराजुलीले भने ।
नीति तथा कार्यक्रममा पुष्पलाल चोकदेखि तीनपैनीसम्मका सडकमा सोलारबत्ती हटाएर बिजुलीबाट बल्ने बत्ती जडान गर्ने उल्लेख छ ।