
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले मानसरोवर जान आएका विदेशी पर्यटकको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् । आइतबार (असार २२) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो माग गरेका हुन् ।
यति बेला मानसरोवरको सिजन भएको भन्दै उनले संसारभरबाट त्यहाँ जान नेपालमा मानिस आइरहेका उल्लेख गरे । “यति बेला मानसरोवरको सिजन हो,” उनले भने, “संसारभरबाट मानसरोवार जानका लागि नेपालमा मानिसहरू आइरहनुभएको छ ।”
मानसरोवर जान आएका करिब तीन हजार विदेशी पर्यटक हाल नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेका उनले बताए । “चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरू नेपालका विभिन्न नाका, काठमाडौंमा पनि ठूलाठूला होटेलहरूमा ७०—८० जनाको समूहसमूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरूलाई छेक्ने काम भएको छ,” उनले भने ।
उनले अगाडि भने, “पहिला चार दिनमा भिसा आउने रहेछ । अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन । भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ, तत्काल गर्नुपर्ने देखियो ।” न्युज एजेन्सी नेपाल