site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विमानस्थल साँघुरो भएकाले यात्रु छिटो पुग्छन्, लगेज ढिलो पुगेजस्तो हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएकाले लगेज टर्मिनल भवनसम्म आइपुग्न समय लाग्ने गरेजस्तो देखिएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको क्षेत्र साँघुरो भएकाले यात्रु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेजस्तो देखिएको बताए ।

"हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ, नजिकनजिक छ । अरू देशका र हाम्रो के फरक होला भनेर हेरेको, अरू देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ, नजिकै छ । मान्छे तुरुन्तै आइपुग्छ । एउटा हाम्रो स्पेसको सीमाको कारण हो । सीमितताको कारण एउटा हो । हामीले आफूले ध्यान दिनुपर्ने कुरा यो हो," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि थपे, "यस (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)ले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ । तर, यसपटक ९५ लाख यात्रु ओहोरदोहोर गरे, यसले पनि खचाखच हुने अवस्था छ । दोब्बरभन्दा बढी त्यसले धान्नुपरिरहेको अवस्था छ ।"

अर्को प्रसंगमा मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकका लागि चिनियाँ दूतावासले प्रमाणीकरण गर्ने भनेर पूर्वसूचनाबिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको बताए ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्