site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा राजावादीको आन्दोलनमा भारतीय मिडियाको चासो

काठमाडौं । २०६५ जेठ २९ गते नारायणहिटीबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र शाहको पुनरागमन प्रयास जारी छ । उनले प्रजातन्त्र दिवसका दिनमा दिएको सन्देशपछि नेपालमा राजसंस्था पुनःस्थापनाको बहस सतहमा आएको छ ।

सडक संघर्ष सुरू भएका छन् भने परिवर्तनकारी शक्ति अर्थात् गणतन्त्रवादीहरूले पनि परिवर्तनको रक्षाको लागि भन्दै सडक संघर्ष सुरू गरेका छन् ।

नेपालमा राजतन्त्र पुनःस्थापनाको माग लिएर राजतन्त्र समर्थकहरूले चलाएको अभियान नेपालका मूलधारका मिडियामा खासै चर्चाको विषय छैन तर भारतीय मिडियामा भने प्राथमिकताका साथ प्रकाशित र प्रशारण भइरहेका छन् ।

कतिपय नेपालका राजनीतिक विश्लेषकहरुले नेपालमा राजसंस्था पुनःस्थापनाको आन्दोलनमा भारतीय केही समूहको पर्दा पछाडिबाट सहयोग गरिरहेको आरोप लगाइरहेका छन् ।

आठजना नागरिक अगुवाहरुले भारतले नेपालमा गरेको नाकाबन्दी बिर्सिएर ज्ञानेन्द्र शाहले आफ्नो व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्धिमा फर्किन भारत सरकारसँगै पहल गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

“आफ्नै पूर्वजले मुलुकप्रति गरेको योगदानसमेत लत्याउनेगरी छिमेक र संसारसामु नेपाललाई कमजोर पार्ने खतरासहित ज्ञानेन्द्र शाह राजनीतिक मैदानमा उत्रिएका छन् । छिमेक सम्बन्ध तथा बृहत् अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको यस बखत ज्ञानेन्द्रको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाउने अभीष्ट बोकेको छ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं र हिरा विश्वकर्मा रहेका छन् ।

यता नेपालमा भारतसामु नेपालको भूराजनीतिलाई थप कमजोर बनाउने अभियानमा लागेको आरोप पूर्वराजामाथि लागिरहेका बेला भारतमा भने नेपालका सडकमा देखिएको प्रदर्शनका समाचारलाई महत्वका साथ स्थान दिइएको पाइएको छ ।

भारतीय मिडियाहरूले यस विषयलाई प्रमुखता दिँदै समाचार, विश्लेषण र लेखहरू प्रकाशन गरिरहेका छन् ।

फागुन २५ (मार्च ९) मा पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा हजारौं राजतन्त्र समर्थकहरूले गरेको स्वागत समारोह र सडक प्रदर्शनपछि भारतीय मिडियाहरूले यो विषयलाई ठूलो महत्व दिएको पाइएको छ ।

उनीहरूले यस विषयलाई आफ्ना अखबार, अनलाइन प्लेटफर्म र डिजिटल माध्यमहरूमा व्यापक स्थान दिएका छन् । चैत १० (मार्च २३) मा डेक्कन हेराल्डले ‘इज मोनार्किज रिटर्न अन द होराइजन फर नेपाल ?̎ शीर्षकको लेख प्रकाशित गर्‍यो ।

यस लेखमा नेपाली समाजका विभिन्न पक्षहरूबाट आएको उत्साहजनक प्रतिक्रियाले नेपालका राजनीतिक नेताहरूलाई गम्भीर र बिचलित बनाएको बताइएको छ ।  साथै, नेकपा (एमाले) र नेकपा एकीकृत माओवादी जस्ता पार्टीहरूले यसको प्रतिकारका लागि राजनीतिक कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको पनि उल्लेख छ । 

उक्त लेखमा राजतन्त्र समर्थकहरूले प्रदर्शनमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर देखिएपछि नेपालमा राजतन्त्र पुनःस्थापनालाई भारतले समर्थन गरेको हो कि भन्ने शंका उब्जेको बताइएको छ ।

चैत ११ (मार्च २४) मा इन्डियन एक्सप्रेसले ‘नेपाल पीएम ओली क्लेम्स इन्डिया रोल अन प्रो–मोनार्की मुभमेन्ट’ शीर्षकको खबर प्रकाशित गर्‍यो । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र समर्थित आन्दोलनलाई भारतले सहयोग गरिरहेको आरोप लगाएको बताइएको छ । 

पार्टीको आन्तरिक बैठकमा सहभागी एक नेतालाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएको इन्डियन एक्सप्रेसले दाबी गरेको छ ।  ओलीले यस विषयलाई संसदमा उठाउने घोषणा गरेको पनि समाचारमा उल्लेख छ ।

चैत १२ (मार्च २६) मा ‘स्वराज्यमाग डटकम’ले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियता बढ्दै गएको विषयमा विश्लेषणात्मक लेख प्रकाशित गर्‍यो । लेखमा पूर्वराजाले देशभर गरेको भ्रमणका क्रममा पाएको जनसमर्थनलाई राजतन्त्र पुनःस्थापनाको पक्षमा बढेको समर्थनको ठोस आधार बताइएको छ । 

साथै, नेपाली जनता खासगरी नेपालका कम्युनिष्ट पार्टीहरूप्रति असन्तुष्ट रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी जनताको नयाँ आशाको केन्द्र बनेर उदाएको पनि दाबी गरिएको छ । यसैगरी अमेरिकी अनलाइन पत्रिका ‘द डिप्लोम्याट’ले योगी आदित्यनाथको पोस्टर देखिएको घटनाले नेपाल र भारत दुबै देशमा ठूलो बहस जन्माएको बताएको छ । 

योगी आदित्यनाथ र उनी आवद्ध पार्टी भारतीय जनता पार्टी ( भाजपा) नेपालमा राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेको बताउँदै, नेपालमा राजतन्त्र पुनःस्थापनाको अभियानमा भारतको संस्थापन पक्षको सर्मथन रहेको हुन सक्ने सम्भावनालाई संकेत गरेको बताइएको छ । 

यस घटनापछि नेपालमा राजतन्त्र समर्थक र विरोधीहरूबीच वाक–युद्ध निम्तिएको पनि उल्लेख गरेको छ। यसबाहेक, भारतीय टेलिभिजन च्यानल, यूट्युबरहरूले नेपालमा राजतन्त्र पुनःस्थापनाको विषयमा धेरै बहस कार्यक्रमहरू प्रसारण गरिरहेका छन् ।  

‘रिपब्लिक वर्ल्ड टीभी’को एक टक शोमा बोल्दै, भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल जीडी बक्षीले नेपालमा हिन्दुत्वको पुनरुत्थान र पूर्वराजाप्रति समर्थन बढ्नुमा भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी र आर्थिक दुरावस्था प्रमुख कारण भएको बताएका छन् ।

‘इन्डिया टीभी’को एक टक शोमा बोल्दै, नेपालका लागि पूर्वभारतीय राजदूत रणजीत रायले आर्थिक कठिनाइ, पलायन र राजनीतिक नेतृत्वप्रति बढ्दो निराशाको परिणाम नै राजतन्त्रप्रतिको समर्थनका बढ्नुको कारण भएको बताएका छन्। 

अर्का प्यानलिस्ट, वरिष्ठ पत्रकार प्रदीप सिंहले राजनीतिक अस्थिरता पनि पूर्वराजा ज्ञानेन्द्र शाहप्रति बढ्दो लोकप्रियताको एक कारण भएकोमा जोड दिएका छन् । 

वरिष्ठ भारतीय पत्रकार श्रवण गर्गले सत्यहिन्दी च्यानलको एक टक शोमा बोल्दै, नेपालमा बढ्दो राजतन्त्रप्रतिको बढ्दो समर्थनका पछि योगी आदित्यनाथको प्रभाव र स्थानीय राजनीतिक अस्थिरताजस्ता विभिन्न कारणहरू छन् भनेर विश्लेषण गरेका छन् ।
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro