
काठमाडौं । कप्तान तथा ओपनर सुभमन गिलको अर्धशतकप्रेरित गुजराज टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरुद्ध २१० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार जयपुरमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल खडा गर्यो ।
गुजरातका कप्तान गिलले ५० बलमा सर्वाधिक ८४ रन बनाए । उनले यसक्रममा पाँच चौका र चार छक्का प्रहार गरे । गिलले पहिलो विकेटका निम्ति साई सुदर्शनसँग १०.२ ओभरमा ९३ रनको साझेदारी गर्दै गुजरातलाई आक्रामक सुरुआत दिलाएका थिए ।
सुदर्शनले ३० बलमा चार चौका र एक छक्कासहित ३९ रन थपे ।
यस्तै, जस बटलरले २६ बलमा तीन चौका र चार छक्कासहित ५० रन थपे । बटलर र सुभमन गिलले दोस्रो विकेटका निम्ति ७४ रनको साझेदारी गरेका थिए ।
वासिंटन सुन्दरले आठ बलमा एक छक्कासहित १३ रन जोडे ।
राजस्थानका महिस थिक्षणाले दुई विकेट लिए । यस्तै, जोफ्रा आर्चर र सन्दीप सिंहले एक विकेट लिए ।
आजको खेलमा जित निकाले गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिने छ । प्रतियोगितामा आठ खेल खेलेको गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ ।
नौ खेल खेलेको राजस्थान भने चार अंकसहित तालिकाको नवौँ स्थानमा छ ।