
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वीरगञ्ज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइजले सातौँ जित निकालेको हो ।
सातौँ जित निकाल्न टोलीका फागुराम थारु निर्णायक बने । उनले इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीको जित पक्का गरे ।
वीरगञ्ज युनाइटेडका विकास दास थारुले प्लानिङ ब्वाइजका थारुलाई १८ यार्ड बक्सभित्र लडाएपछि प्लानिङ ब्वाइजले पेनाल्टी अवसर पाएको थियो । त्यसअघि दुवै टोलीले खेलमा अग्रता बनाउन थुप्रै अवसर सृजना गरे पनि गोल भने गर्न सकेन ।
५६औँ मिनेटमा वीरगञ्जका विवेक चौधरीको शक्तिशाली प्रहार प्लानिङ ब्वाइजका गोल रक्षक नवीन परियारले विफल बनाए । उनले विक्रम ठोकरको पासमा १८ यार्ड बक्स नजिकैबाट दायाँ बारको बटम कर्नरमा प्रहार गरेको सट विफल बनाए ।
५६औँ मिनेटमा प्लानिङ ब्वाइजका असिम राई बललाई दिशा दिनबाट चुके । उनको प्रहार पोस्टको बायाँ साइड हुँदै मैदानबाट बाहिरियो ।
७६औँ मिनेटमा वीरगञ्जका गोल रक्षक प्रमिजय गच्छदारले दुई उत्कृष्ट बचाउ गरे । उनले प्लानिङ ब्वाइजका थारुको शक्तिशाली प्रहारमा पुनः रिबाउन्ड प्रहार बचाउ गरे । उनले फागुरामको प्रहार मैदानभित्र रिबाउन्ड आउँदा १८ यार्ड बक्सभित्र सरोज कार्की डोलीले गरेको दोहोरो प्रहार पनि बचाउ गरे ।
सातौँ जित निकाल्दै लिग लिडर प्लानिङ ब्वाइजले २२ अंक बनाएको छ । प्लानिङ ब्वाइजले कुल आठ खेलमा सात जित र एक बराबरीसहित २२ अंक जोडेको हो । पराजित वीरगञ्ज युनाइटेड भने कुल आठ खेलमा तीन जित र तीन बराबरीबाट १२ अंकमा सीमित छ ।