
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको भएको टिप्पणी गरेका छन् । शनिबार (वैशाख १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार गैरजिम्मेवार र सुशासनविरोधी भएको आरोप लगाए । अलिकति पनि राजनीतिक विवेक, ज्ञान राख्ने मान्छेले वर्तमान सरकार बिचौलियाको भनेर स्वीकार गरिसकेको उनले बताए ।
“अहिले जो सरकार चलिरहेको छ, त्यो सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो,” उनले भने, “अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् ।”
उनले वर्तमान सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरूको हित, भ्रष्टाचारको रक्षा र राम्रो काम गर्नेलाई प्रताडित गरिरहेको आरोप लगाए ।
सडकमा लाखौँको संख्यामा शिक्षकले आन्दोलन गरिरहँदा उनीहरूका माग पूरा गर्नुको सट्टा सरकार र नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए ।
“जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो, त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढंगले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ,” उनले भने ।
अध्यक्ष प्रचण्डले शिक्षकसँगका सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । शिक्षकसँगका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर विद्यालय शिक्षा ऐन दिनुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल