
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका सांसद महतले यस्तो बताएका हुन् ।
उनले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत उल्लेख गरे । विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।
उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरू पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको बताए ।
"शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिबद्धता गरेका विषयहरूलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ । सम्बोधन गर्नुपर्छ । र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसद्बाट पास गरेर कानुनी रूप दिनुपर्छ । शिक्षक साथीहरूले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ । केही समय विधेयक पारित गर्नको लागि लाग्छ," उनले भने ।
फरक प्रसंगमा बोल्दै सांसद महतले सरकार ढल्ने कुरामा सत्यता नरहेको बताए । सरकार बनेदेखि नै सरकार ढल्ने कुरा भइरहेकै कारण यस विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।