
काठमाडौं । पाँचपटकको विजेता मुम्बई इन्डियन्सविरुद्ध दोस्रो क्वालिफायर पाँच विकेटको जित निकाल्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा स्थान बनाएको छ ।
आइतबार राति अहमदाबादमा मुम्बईले २०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पञ्जाबको जितमा श्रेयस ऐयरले कप्तानी इनिङ खेले । उनले ४१ बलमा आठ छक्का र पाँच चौकासहित अविजित ८७ रन बनाए । नेहल वधेराले २९ बलमा चार चौका र दुई छक्कासहित ४८ रन थपे । जस इंग्लिसले ३८ र प्रियान्स आर्याले २० रन जोडे ।
मुम्बईका आश्वनी कुमारले दुई विकेट लिए । ट्रेन्ट बोल्ट र हार्दिक पण्ड्याले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादव र तिलक वर्माले समान ४४ रन जोडे । जोनी बेरेस्टोले ३८, नमन धीरले ३७ र कप्तान हार्दिक पण्ड्याले १५ रन थपे ।
पञ्जाबका अज्मतुल्लाह ओमरजाईले दुई विकेट लिए । कोइल जेमिसन, मार्कुस स्टोइनिस, विजकुमार व्यासक र युजवेन्द्र चहलले समान एक विकेट लिए ।
पञ्जाबले सन् २०१४ पछि आईपीएलको फाइनलमा स्थान बनाएको हो । २०१४ मा फाइनलमा पुगे पनि उपाधि भिडन्तमा पञ्जाबले कोलकाता नाइट राइडर्ससँग पराजय व्यहोरेको थियो ।
पञ्जाबले अब उपाधिका निम्ति रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई नै हराएर बेंगलुरुले फाइनल यात्रा तय गरेको थियो ।