
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नयाँ कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्य नियुक्त भएसँगै केही दिन बिजुली दिएको भारतले पुनः निर्यात रोकेको छ । कुलमान घिसिङ गत चैत ११ गते बर्खास्त भएसँगै शाक्य नियुक्त हुँदा भारतले चार घण्टा बिजुली थपेको थियो ।
तर, भारतीय ऊर्जा, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आएकै बेला विद्युत् दिन छाडेको हो । खट्टर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा थिए ।
खट्टर आउँदासमेत एक महिनाका लागि ५०० मेगावाट बिजुली उपलब्ध गराउन खड्काले उनलाई राजी गर्न सकेनन् ।
भारतीय कम्पनीले बनाइरहेको अरुण तेस्रो आयोजना निरीक्षण तथा इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन समझदारीमा साक्षी बनेका खट्टरसँग एक महिनाका आयात बढाउन लबिइङ गर्नबाट खड्का चुकेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।
झन्डै पाँचलाख मेगावाट जडित क्षमता रहेको भारतका लागि पाँच सय मेगावाट ठुलो विषय नभए पनि नेपाली पक्षले त्यसको ‘लबिइङ’ राम्रोसँग गर्न नसकेको कारण भारतले निर्यात रोकेको स्रोत बताउँछ ।
भारतले बिजुली नदिएसँगै उद्योगहरूमा लोडसेडिङको मार खेप्नुपरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् ।
“भारतले केही दिन जति दियो दियो त्यसपछि फेरि पुरानै समस्या दोहोरियो,” उनले भने, “३–४ दिसम्म ठिकै थियो, त्यसपछि लोडसेडिङ सुरु भएको हो, भारतको बिजुली नियमित छैन ।”
रिजालका अनुसार, राति मात्रै होइन दिउँसोसमेत ट्रिपिङ बढेको छ ।
“यतिखेर बेलुका ५ बजेपछि उद्योग बन्द गर्नुपर्ने अवस्था छ,” उनले भने, “यो समस्या कूटनीतिक पहलबाट मात्रै समाधान हुन्छ, तर राज्य त्यसमा लागेको छैन ।”
चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्यो । घिसिङ बर्खास्त गरेको केही दिन भारतलाई मनाउँदै सरकारले चारघण्टा बिजुली थप गरेको थियो । घिसिङलाई हटाएकोे एकसाता औद्योगिक क्षेत्रमा लोडसेडिङ कमी आएको उद्योगीहरूले बताएका थिए ।
उद्योगीहरूले लोडसेडिङ कमी भएको भन्दै विज्ञप्ति नै सार्वजनिक समेत गरेका थिए । नेपाल धागो उत्पादक संघले लोडसेडिङमा कमी आएको यसले निर्यातमूलक उद्योग उत्साहित भएको जनाएको थियो । करिब १० दिनसम्म ४–५ घण्टा लोडसेडिङ भोगेका उद्योगीहरू पुनः १० लोडसेडिङको मारमा पर्न थालेको बताउँछन् ।
विशेषगरी पूर्वी क्षेत्र र मध्य तराईका क्षेत्रमा सन्चालित उद्योगहरूमा बेलुका ५ देखि लोडसेडिङ सुरु हुने गरेको उद्योगीहरूको भनाइ छ ।
उद्योग संगठन मोरङ निवर्तमान अध्यक्ष सुयेश प्याकुरेलले उद्योगले लोडसेडिङको मार खेप्नुपरेको बताए । “एक साता नियमित रहेको बिजुली पुनः अनियमित भएको छ,” उनले भने, “करिब ४ घण्टा रहेको कटौती ८ घण्टा बढी पुगेको छ ।”
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष भीमबहादुर पौडेल केही समय सुध्रिए पनि लोडसेडिङको समस्या बढेको बताउँछन् । यस्तै लुम्बिनी प्रदेशमा पनि लोडसेडिङको समस्या उस्तै रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् ।
“केही दिन नियमित भएको जस्तो थियो, तर समस्या भयावह छ,” उनले भने, “उद्योगका मजदुर बेरोजगार भएका छन् ।” प्राधिकरणकाअनुसार भारतमै बिजुलीको अत्यधिक माग बढेका कारण आयात प्रभावित भएको हो ।
“आयात ठप्प भएको होइन, भारतमा डिमान्ड हाई भइदियो, प्रतिस्पर्धा हुँदा हाम्रो परेन हाम्रोमा कम आएको हो,” प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने “भारतबाट नआएपछि उद्योगहरूमा कटौती गर्नुपरेको हो ।”
भारतबाट ६०/७० मेगावाट मात्रै बिजुली आइरहेको र यसलाई बढाउने कोसिसमा प्राधिकरण लागेको शिल्पकार बताउँछन् ।
मार्च १६ देखि सोलार आवरमा मात्रै बिजुली दिएको भारतले शाक्य आएसँगै चारघण्टा थप गरेको थियो । प्राधिकरणकाअनुसार राति १२ देखि ४ बजेसम्म ६ सय मेगावाटको हाराहारीमा बिजुली दिन थालेपछि औद्योगिक क्षेत्रको लोडसेडिङमा केही कमी आएको थियो ।
तर, भारतले दिन छाडेपछि उद्योगको लोडसेडिङ पुरानै अवस्थामा फर्किएको हो । भारतबाट दुई प्रकारले विद्युत् आपूर्ति भइरहेको छ । ढल्केबर–मुजफ्फपुर, टनकपुरबाट तथा बिहार र उत्तर प्रदेशसँग जोडिएका १३२ केभी प्रसारण लाइनमार्फत् नेपालमा बिजुली आयात हुने गरेको छ ।
नेपालले ढल्केबर–मुजफ्फपुर, बिहार र उत्तर प्रदेशसँग जोडिएका १३२ केभी प्रसारणअन्र्तगत न्यू नौतनुवा–मैनहिया, कटैया–कुशाहा, रामनगर–गण्डक, रक्सौल–परवानीपुरबाट बिहारको पावर एक्सचेन्ज कमिटी (पीइसी) तथा ऊर्जा खरिद बिक्री बजार (आईईएक्स)बाट बिजुली किन्ने गर्छ ।
अधिकांश नदी प्रवाही आयोजना हुँदा जडित क्षमता ३५ सय मेगावाटमाथि पुगे पनि हिँउद लागेसँगै भारतीय बिजुलीको भरमा माग र आपूर्ति निर्भर हुनु परेको छ । भारतले विद्युत नदिएको भन्दै प्रत्येक वर्षको हिउँदमा औद्योगिक क्षेत्र लोडसेडिङको मारमा पर्ने गरेका छन् ।
वर्षामा फालाफाल हुने विद्युत् हिउँदमा छिमेकीको भर पर्नुपर्ने अवस्था छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विद्युत् जडित क्षमता ३५०० मेगावाटमाथि पुगेको छ । बुधबार (वैशाख १०) उच्च माग १९१३ मेगावाट पुगेको प्राधिकरणको तथ्यांक छ ।
जडित क्षमता झन्डै दोब्बर पुगे पनि नदी प्रवाही आयोजनाबाट एक हजार मेगावाटको हाराहारीमा उत्पादन भइरहेको प्राधिकरणको भनाइ छ । जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माण नभएसम्म हिउँदमा भारतको भर अनिवार्य जस्तै छ ।
चालु आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय प्रणालीमा ३५५ मेगावाट बिजुली थपिएको छ । तर, सबै नदी प्रवाही आयोजना मात्रै हुँदा योगदान निकै कम छ ।
चालु आर्थिक वर्षमा निजी लगानीमा निर्माणाधीन १४ आयोजना पूरा हुँदै प्रणालीमा ३५५ मेगावाट थपिएको थियो । साउनयता १० आयोजनाले विद्युत उत्पादन सुरू गरेका छन् । जसको कुल जडित क्षमता ३२८ मेगावाट छ । यस्तै २६.९६ मेगावाट क्षमताका चार आयोजनाबाट परीक्षण उत्पादनमा भइरहेको प्राधिकरणले जनाएको छ ।
थप भएका आयोजनासमेत गरी प्राधिकरणको प्रणालीमा जडित क्षमता बढेर ३५ सय मेगावाट माथि पुगेको प्राधिकरणका प्रवक्ता शिल्पकारले बाह्रखरीलाई जानकारी दिए ।