-1744985960.jpg)
काठमाडौं । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २२ दिनदेखि निरन्तर काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले बिहीबारको आन्दोलन रचनात्मक बनाउने भएका छन् । माइतीघर–बानेश्वरकेन्द्रित प्रदर्शन गरिरहेका उनीहरूले भोलिका लागि रक्तदान कार्यक्रम राखेका हुन् ।
यद्यपि रक्तदान कार्यक्रम नियमित आन्दोलन सकेपछि हुनेछ । बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन गर्दै आएका उनीहरूले २ बजेपछिका लागि रक्तदान कार्यक्रम राखेका हुन् ।
आन्दोलन स्थल आर्क पुल (सिग्नेचर पुल)मा रक्तदान गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । महासंघले इच्छुक शिक्षक–कर्मचारीलाई रक्तदानका निम्ति अनुरोध पनि गरेको छ ।
महासंघले मन्त्रिपरिषदबाट पास हुनुपर्ने सातवटा बुँदा र अन्य माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।
आज बुधबार पनि सरकार पक्ष र आन्दोलनरत शिक्षकबीच अनौपचारिक बैठक बसेको थियो । तर उक्त बैठकले कुनै निष्कर्ष दिन सकेन ।