
काठमाडौं । एक नेपालीसहित २८ जनाको ज्यान जाने गरी कश्मीरमा मंगलबार दिउँसो भएको आतंककारी हमला लस्कर–ए–तोइबाले गराएको भारतले दाबी गरेको छ ।
भारतले यो हमलाको बहुआयामिक र सम्पूर्ण प्रयासहरू लगाएर जवाफ दिने पनि उद्घोष गरको टाइम्स अफ इन्डियाले जनाएको छ ।
कसरी भयो घटना ?
द इन्डिपेन्डेन्ट अनलाइनका अनुसार, मंगलबारको दिन कश्मीरको मनोरम पहलगामस्थित बेसारन उपत्यकामा सर्वसाधरणलक्षित भयावह आतंकवादी हमला दिउँसो करिब २.३० बजे सुरु भएको थियो । पैदल वा घोडाबाट मात्र पुग्न सकिने हिमाली चुचुराहरू र हरियाली घाँसे मैदानले घेरिएको यो क्षेत्रमा मानिसहरू पुग्दै गर्दा गोलीको आवाजले उपत्यकामा आतंक फैलियो र पर्यटकहरू भाग्न थाले ।
प्रत्यक्षदर्शीहरूका अनुसार, सैनिक जस्तै पोसाक लगाएका चारदेखि ६ जना आक्रमणकारीहरू नजिकैको जंगलबाट आएर १५ देखि २० मिनेटसम्म नजिकैबाट मानिसहरूमाथि गोली चलाए ।
१२ सयभन्दा बढी मानिसहरू उपस्थित रहेको घाँसे मैदान भएको ठाउँमा गोली चल्दा धेरै पर्यटकहरू लुक्न खोजे । तर, खुल्ला मैदान भएकाले उनीहरू लुक्ने ठाउँ नै थिएन ।
बाँच्न सफल एक पर्यटकले द इन्डियन एक्सप्रेसलाई भने, “आक्रमणकारीहरूले मैदानमा अनियन्त्रित रूपमा कम्तीमा २० मिनेटसम्म निडर भएर घुम्दै गोली चलाउँदै गर्दा मलाई त त्यो अत्यन्तै लामो समय जस्तो लाग्यो ।”
एक स्थानीय पर्यटकीय घोडा सेवा सञ्चालकले एएफपीलाई बताएअनुसार आतंककारीहरूले स्पष्ट रूपमा महिलाहरूलाई छोडेर पुरुषहरूमाथि मात्र गोली चलाए ।
एक प्रत्यक्षदर्शीले भने अनुसार, उक्त ठाउँमा धेरै गोलीहरूको वर्षा नै भएर आँधी जस्तै माहोल बनेको थियो । अर्का एक घोडा सेवकले स्थानीय मिडियालाई बताएअनुसार उनीहरूले पटकाको जस्तो आवाज सुनेको र त्यसपछि मानिसहरू चिच्याउँदै ढल्न थालेका थिए ।
द इन्डिपेन्डेन्ट अनलाइनका अनुसार घटनापछि मनिसहरू आतंकित भएर चिच्याउँदै थिए । केही महिलाहरू स्थानीय पसलेहरूसँग मद्दतको लागि बिन्ति गर्दै थिए, जसले उनीहरूलाई शान्त गर्ने प्रयास गरे । केही घाइतेहरूलाई सैन्य हेलिकोप्टर आउनुभन्दा पहिले स्थानीय मानिसहरूले घोडामा चढाएर अस्पताल पुर्याए ।
आफ्नो पतिसँगै यात्रा गरिरहेकी एक युवतीले खाजा खाइरहेका बेलामा एक आक्रमणकारी आएर उनको पतिलाई मुस्लिम हो कि होइन भनेर सोधेको र उनले मुस्लिम होइन भन्ने जवाफ दिँदै गर्दा नै आक्रमणकारीले गोली चलाएको बताइन् ।
रिसोर्ट र होटेलहरू खाली हुँदै
भारतको सैन्य बल र कश्मीर प्रहरीले यो आक्रमणको प्रतिक्रियामा ठूलो आतंकवादविरोधी अभियान सुरु गरेको बताएको छ । तर, बुधबार दिउँसोसम्म पनि कुनै पनि आक्रमणकारीलाई पक्राउ गरिएको पुष्टि भएको छैन । पहलगामका रिसोर्ट र होटेलहरू खाली हुँदै जाँदा सैन्य बलले सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको द इन्डिपेन्डेन्ट अनलाइनले जनाएको छ ।