site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निषेधाज्ञाप्रति राजावादीको विरोध, प्रदर्शनस्थल फेरियो

काठमाडौं । सरकारले काठमाडौंका केही स्थानमा थप गरेको निषेधाज्ञाप्रति नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले विरोध जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारबाट जेठ २४ गतेसम्मका लागि नारायणहिटी दरबार क्षेत्र– केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्मलाई निषेधित क्षेत्र तोकेको थियो ।

Argakhachi Cement Island Ad

शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनका संयोजक सुवेदीले शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी रहेको जनाएका छन् । “जनताको निःस्वार्थ साथ, सहयोगले आन्दोलनमा उत्साह सञ्चार गरेको छ । जनताको समर्थनमा आन्दोलन उत्कर्षमा पुग्ने अवस्थाबाट अत्तालिएको सरकारले निषेधाज्ञा जारी गरेको छ,” विज्ञप्तिमा उल्लेख छ । 

निषेधाज्ञा आफैँमा जनआन्दोलन सफलताको दिशामा अघि बढिरहेको छ भन्ने सरकारको स्वीकारोक्ति भएको समितिको ठहर छ । 

उनले भनेका छन्, “नेपाली जनताको मानव अधिकार, संविधानप्रदत्त प्रजातान्त्रिक अधिकार पटक–पटक अवरोध गर्ने सरकारले निषेधाज्ञाको प्रपञ्च रच्नु कुनै आश्चर्य भएन ।” 

काठमाडौं उपत्यकावासीलगायत देशभरका जनतालाई आन्दोलनमा सहभागी हुन समितिले अनुरोध गरेको छ । 

सरकारले निषेधाज्ञा जारी गरेपछि भोलि जेठ १७ गतेलाई तोकिएको स्थान (दरबार मार्ग)बाट परिवर्तन गरेर शान्तिवाटिका, रत्नपार्कलाई प्रदर्शनस्थल तोकिएको सुवेदीले जानकारी गराएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्