site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु निराधार र अनुचित भएको बताएका छन् । 

एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

Argakhachi Cement Island Ad

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए । 

“प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु । तर, माग राख्दा वा विरोध गर्दा आधार चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्,” उनले भने, “एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई यो सरकार नै मन परेको छैन । उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।” 

प्रधानमन्त्री ओलीले गतवर्ष तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उनीमाथि सीआईबीले छानबिन गरिरहेको स्मरण गरे । तर, अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।  

“अहिले यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन,” उनले भने । विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा नहुने उनले स्पट पारे । 

कांग्रेसका केही नेताले गृहमन्त्री लेखकको राजीनामा मागेको सन्दर्भमा उनले पार्टीभित्रको समस्या पार्टीभित्रै मिलाउनुपर्ने बताए । घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिष्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह छ ।  
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्