
काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुरावस्था हट्न केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि प्रयास गरिरहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले बुधबार विराटनगरमा आयोजना गरेको नयाँ वर्ष ०८२ को शुभकामना आदानप्रदान तथा 'लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र' विषयक विचार गोष्ठी र लोकतान्त्रिक योद्दा महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देशको दुरावस्था हटाउन, आर्थिक समृद्धि र विकासको काम अगाडि बढाउनकै लागि संसद्मा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर वर्तमान सरकार बनेको सिंहको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले नेपालको आफ्नै अनुभवबाट पनि लोकतन्त्रको विकल्प तानाशाही व्यवस्था हुननसक्ने प्रष्ट भइसकेको उल्लेख गरे । ०४६ सालको परिवर्तनपछि संवैधानिक राजसंस्था मानेको चर्चा गर्दै उनले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भइसकेकाले अब संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।