
काठमाडौं । सूर्य नेपाल एनपीजीए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर नीरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौँ वरीयताका धनबहादुर थापालाई ५/४ ले हराउँदै नीरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे ।
उनको यो करियरको चौथो उपाधि हो । रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा नीरजले धनबहादुरलाई पहिलो नौ होलमा २ होलले पछि पारे । यसपछि १८ होल सकिँदा नीरजले ६–होलको फराकिलो अग्रता बनाए । एकपक्षीय जितको नजिक नीरज पुगेका थिए । तर, धनले सहजै हार मानेनन् । २७ होलको समाप्तिमा अग्रता ५–होलमा छोट्याए । यसपछि ३२औँ होलको खेल बराबरीमा सकिएसँगै नीरजले ४ होल अगाडि उपाधि जिते ।
उपाधिसँगै नीरजले नगद ६० हजार प्राप्त गरेका छन् । दोस्रो भएका धनले ४२ हजार प्राप्त गरे । नीरजले पहिलो चरणमा सूर्यप्रसाद शर्मा, क्वार्टरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए । नीरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए ।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले तेस्रो स्थान प्राप्त गरे । दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४/२ ले माथ दिए । दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे । क्वार्टरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरणविक्रम शाही, रामे मगर र प्रदीपकुमार लामाले ११/११ हजार प्राप्त गरे ।
पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सञ्जय लामा, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्यप्रसाद शर्माले जनही ६/६ हजार प्राप्त गरे ।
सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल नगद पुरस्कार राशी दुई लाख ५० हजार रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेप्युटी जेनरल मेनेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।