
विराटनगर । कोसी प्रदेश समन्वय परिषद्मा प्रदेश सरकार र स्थानीय तहबीच देखिएका समस्या समाधान गर्न जोड दिइएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकमा दुई सरकारबीच देखिएका समस्या समाधान गर्न जोड दिइएको हो ।
समन्वय परिषद्को बैठकमा स्थानीय तह र प्रदेश सरकारले उठाउने करमा देखिएको दोहोरोपनको विषयमा छलफल केन्द्रित थियो । दोहोरोपनका कारण सेवाग्राहीमा परेको समस्याबारे स्थानीय तहका प्रमुखहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै, स्थानीय तह र प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने आयोजनाको पहिचान नामकरण, आयोजना तर्जुमा र योजना बैंकसम्बन्धी विषयमा समेत देखिएका समस्याहरूका विषयमा छलफल भएको छ ।
स्थानीय तहमा हुने सरुवा, कर्मचारी व्यवस्थापन र कर्मचारी बढुवा लगायतका विषयमा पनि समन्वय परिषद्को बैठकमा छलफल भइ सहजीकरण गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
परिषद् बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षमा स्थानीय सरकारसँगको सहकार्य, यसको अवधारणा साथै यसको लाभका विषयमा पनि प्रस्ताव राखेका थिए ।
सरकारले आउँदो वैशाख १८ र १९ गते आयोजना गर्ने लगानी सम्मेलनका विषयमा जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले यसबाट स्थानीय तहले लिनसक्ने लाभ परियोजनाको ‘सोकेसिङ’का बारेमा पनि बैठकमा छलफल र निर्णय भएको छ । परिषद् बैठकमा अघिल्ला बैठकहरूमा भएका छलफल र तिनको कार्यान्वयनको अप्ठ्याराको विषयमा कोसी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जानकारी गराएका थिए ।