
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आमनागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । यसअघि कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहुन्जेल मन्त्री खड्काले सुक्खा याममा लोडसेडिङ हुन सक्ने बताएका थिए ।
तर, तत्कालीन कार्यकारी निर्देशक घिसिङले भने आफूले लोडसेडिङ हुन नदिने बताउँदै आएका थिए । अहिले सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाइसकेको छ ।
शाक्य विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि भने ऊर्जामन्त्री खड्काको बोली फेरिएको छ । बुधबार सान्जेन खोला हाइड्रोपावर कम्पनीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् दिन नसके पनि आमनागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे । यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्त्वपूर्ण रहेको उनले बताए ।
मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रसारण ग्रिडमा ७८ मेगावाट विद्युत् जडान गर्न सफल भएको भन्दै शुभकामना दिएका थिए ।